Logo
Logo

‘कोरोना भाइरस’ले मुखैको गाँस खोसिने डर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ फागुन । विश्वभर फैलिएको कोरोना भाइरसले चन्द्रप्रसाद ढकाललाई नयाँ वर्ष २०७७ सँगै नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष बन्नबाट रोकिने अवस्था सिर्जना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैत २८ र २९ गते प्रज्ञा भवन कमलादीमा साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा उम्मेदवार हुनेहरुले चैत २० गतेसम्म आ–आफ्नो उम्मेदवारी सचिवालयमा दर्ता गर्न भनिएको छ । यसैबीच महासंघको स्थायी समितिको बैठक आगामी शुक्रबार बस्दैछ । पूर्वअध्यक्षहरु ‘कोरोना’ भाइरसका कारण साधारणसभा सार्नुपर्ने अडानमा छन् । महासंघको विधानले ६ महिनासम्म साधारणसभा सार्ने व्यवस्था गरेको छ ।

आगामी चैत २८–२९ गते काठमाडौँमा आयोजना हुने महासंघको साधारणसभामा देशभरिबाट एक हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन् । सरकारले पनि सबै जनतालाई कोरोना भाइरसबाट सचेत हुन आग्रह गरेको छ । सार्वजनिक भेला, सम्मेलन नगर्न आह्वान गरेको छ । चैत ५ गतेबाट स्कूल, कलेज बन्द हुँदैछ । यस्तो अवस्थामा प्रमुख अतिथि नै आएनन् भने के गर्ने भन्ने चिन्ता पनि छ । महासंघको साधारणसभामा प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउने परम्परा छ । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने सम्भावना न्यून छ । यस्तो स्थितिमा उपप्रधानमन्त्री, सभामुख अथवा अन्य कुन व्यक्तिलाई प्रमुख अतिथि बनाउने भन्ने कुरा स्थायी समिति बैठकमा छलफल हुनेछ । त्योभन्दा पनि हरेक मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कोरोना भाइरसका कारण साधारणसभा स्थगित गर्नुपर्छ भन्ने विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुनेछ । एक हजारभन्दा बढी प्रतिनिधि दुई दिनसम्म एउटै कार्यक्रम कक्षमा भेला हुँदा कतै संक्रमित व्यक्ति पनि आए भने, त्यसले भयावह स्थिति उत्पन्न हुनेछ । यसतर्फ महासंघ सचेत भएकोले साधारणसभा स्थगित गरिनुपर्ने पक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानका समर्थकहरु लागेका छन् । तर, साधारणसभा स्थगित गर्दा मुखैमा आएको गाँस खोसिने हो कि भन्ने चिन्ता ढकाल समूहको रहेको छ । ढकाल समूह चुनाव जित्ने कुरामा ढुक्क मात्र होइन, अति ढुक्क देखिन्छ । अधिकांश जिल्ला नगर र प्रदेशबाट मात्र होइन, वस्तुगत, एशोसिएटमा पनि ढकाल समूहको बलियो पकड रहेको छ ।

त्यसैले प्रधान समूह जसरी भए पनि कोरोनाको कारण देखाएर साधारणसभा स्थगित गराउने तयारीमा लागेको छ । आगामी शुक्रबार बस्ने स्थायी समितिले साधारणसभा स्थगित नगरे जिल्ला प्रशासन कार्यालय र सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको स्रोतले बताएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल पनि कोरोनाको उच्च जोखिममा छ । डब्लुएचओका अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघिसकेको छ भने तीन हजार पाँचभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्