सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीमाथि मंगलबार प्रतिष्ठान परिसरमै दुर्व्यवहार भएको छ ।
उपकुलपतिको कार्यकक्षमा भेट्न गएका तीन जनाले उनीमाथि मोसो दलेका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ । सुनसरी प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार दिउँसो १ बजेतिर कामु उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गर्न खोजेका थिए ।
‘तीनमध्ये एक जनाले मोविल प्रहार गर्न खोज्दा त्यहाँ खटिएको प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ,’ भण्डारीले भने, ‘भिसी सरलाई केही पनि हुन पाएन। अहिले नियन्त्रणमा लिइएका तीन जनामाथि अनुसन्धान भइरहेको छ ।’ प्रहरीले नियन्त्रणमा लिएका तीन जनाबारे थप बताउन चाहेन । डिएसपी भण्डारीले अनुसन्धान जारी रहेको र पक्राउ परेकाबारे विस्तारै खुल्ने बताए ।
प्रतिष्ठान केही समययता फेरि अशान्त छ । खासगरी शिक्षक तथा कर्मचारीहरूले बढुवा माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले कामु उपकुलपति कार्की आफ्नो माग पूरा गराउन बाधक बनेको आरोप आन्दोलनकारीको छ ।
ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिक रूपमा सुरू भएको थियो । आन्दोलनरत शिक्षक चिकित्सकहरूबाहेक प्रोफेसर र जुनियर रेसिडेन्टहरूले ओपिडी सेवा आंशिक रूपमा भएपनि सञ्चालनमा ल्याएका हुन् ।
प्रोफेसर र जेआरहरू पदोन्नति माग गर्नेमा पर्दैनन्। त्यसबाहेकका एसिस्टेन्ट प्रोफेसर, एशोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरू मात्र बढुवाको माग गर्ने चिकित्सकहरू हुन् ।
यस्तै, नर्सिङ र कर्मचारीहरू पनि आन्दोलनमा छन्। बढुवा हुनु नपर्ने कर्मचारीहरूलाई पनि कर्मचारी कल्याण समाजले आन्दोलनमा सहभागी हुन बाध्यकारी नभएको बताए । उनले आन्दोलन जारी अवस्थामा भए पनि आइतबारदेखि नै ओपिडी खुल्न सुरू भएको सहायक अस्पताल निर्देशक डा. इन्द्र लिम्बुले जानकारी दिए ।
बढुवाको माग गर्दै आन्दोलनरत शिक्षक, कर्मचारीहरूले सेवा बहिष्कार गरेपछि पुस २९ गतेदेखि नै ओपिडी सेवा र विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको थियो ।
उच्च अदालत विराटनगरले तत्काल बढुवा नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको र प्रतिष्ठानले पनि बढुवा प्रक्रिया तत्काललाई स्थगन गरेको जानकारी दिँदै काममा फर्कन अपिल गरेपनि आन्दोलनरत पक्षले भद्र अवज्ञा आन्दोलन जारी राखेका छन् ।