Logo
Logo

विमान दुर्घटनामा निधन भएका पत्रकारद्वयको ‘स्मृति दर्पण’ प्रकाशन



कास्की । गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ पुस्तकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमोचन गरेका हुन् ।

प्रेस सेन्टरको वीरगञ्जमा सम्पन्न २०औँ स्थापना दिवस समारोहका अवसरमा सोमबार स्मृति दर्पण विमोचन गरिएको हो ।
पुस्तकमा स्व पत्रकारद्वयको जीवनी, विभिन्न पत्रकार तथा पत्रकार सम्बद्ध सङ्घसंस्थाका अध्यक्ष तथा सञ्चारकर्मीले उनीहरूसँगको सहकार्यलाई किताबमा उल्लेख गरेका हुन् । स्मारिकामा गण्डकी प्रदेश क्षेत्रमा विभिन्न समयमा ज्यान गुमाएका पत्रकारहरूको पनि सङ्क्षिप्त परिचय समेटिएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव एवं गण्डकीका इन्चार्ज दीपक श्रेष्ठले गुमाएकाको सम्झना र सम्मानमा स्मृति ग्रन्थ प्रकाशन गरिएको बताए । उनले भने, ‘गतिशीलतालाई बुझ्न सक्ने, समयसापेक्षतालाई गहिरो चिन्तनमनन गर्ने ‘डाइनामिक’ नेतृत्व स्व त्रिभुवन पौडेलले नेपाली पत्रकारितामा पु¥याउनुभएको योगदानलाई अभिलेखीकरण गर्ने र चिरस्थायी बनाउनका लागि पुस्तक प्रकाशन गरेका हौँ ।’

प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्षसमेत रहेका स्व पत्रकार पौडेल नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य थिए । उनीले गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष तथा कास्की शाखामा तीन कार्यकाल पदाधिकारीमा रहेर काम गरेका थिए ।

महासङ्घ प्रदेश समितिले पौडेलको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापनाको तयारी गरेको छ । कोषमा पत्रकार, विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रकम जम्मा भइरहेको बताइन्छ । यसैगरी, प्रदेश समितिका अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन स्मृति कक्ष’ नामकरण गरिएको छ । पौडेल अध्यक्ष रहेका समयमा प्रदेश समितिको भवन निर्माण गरिएको थियो ।

प्रेस सेन्टर नेपालले पनि स्व पत्रकार पौडेलका नाममा केन्द्रमा अक्षयकोष स्थापना गर्ने प्रेस सेन्टर गण्डकीका अध्यक्ष अर्जुन काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्