Logo
Logo

आजदेखि आठ देशका नागरिकलाई नेपालमा अन अराभल भिसा रोक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ फागुन ।
आज(मंगलबार)देखि आठ देशका नागरिकले नेपालमा ‘अन अराइभल भिसा’ नपाउने भएका छन् । कोरोना (कोभिड–१९)को धेरै प्रभाव भएका चीन (हङकङ र ताइवानसहित), जापान, दक्षिण कोरिया, इटाली, इरान, फ्रान्स, स्पेन र जर्मनीका नागरिकले अन अराइभल भिसा नपाउने भएका हुन् ।
सरकारले पाँच देशको हकमा गत साता नै निर्णय गरेकोमा फ्रान्स, स्पेन र जर्मनीका नागरिकलाई नदिने निर्णय सोमबार मात्रै गरेको हो । यी देशका नागरिक नेपाल आउन चाहे अग्रिम रूपमा नेपाली मिसनहरूबाट भिसा लिनुपर्ने हुन्छ ।

उनीहरूले आफूमा कोरोना संक्रमण नभएको स्वास्थ्य रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गरिएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । रिपोर्ट नेपाल आउँदासमेत देखाउनुपर्छ । उनीहरू सडकमार्ग हुँदै नेपाल आउन पनि पाउने छैनन् । बढीमा एक साताअगाडिको रिपोर्ट मान्य हुने विभागले जनाएको छ । विश्व स्वास्थ्य संगठनकै सुझाबहरू सरकारले कडाइ गरेको हो ।

आठ देश हुँदै नेपाल आउने अन्य देशका नागरिकले पनि स्वास्थ्य प्रमाणपत्र पेस गरे मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । ‘सकेसम्म ती देशबाट नागरिक नआऊन् भन्ने हाम्रो उद्देश्य हो,’ अध्यागमन विभागका एक अधिकारीले भने, ‘अहिलेको आवश्यकता पर्यटक ल्याउनेभन्दा पनि कोरोना नियन्त्रण गर्नु हो ।’

विदेशबाट आउने हरेक यात्रुको विमानस्थलमा ज्वरो नाप हुने गरेको छ । नेपालमा हाल कसैलाई पनि कोरोनाको संक्रमण नभए पनि विश्वमा फैलिएकाले नेपाललाई पनि उच्च जोखिममा राखिएको छ । गृह मन्त्रालयले भारतसँगको सीमामा समेत कडाइ सुरु गरेको छ । भारतमा संक्रमण बढ्दै गए मुख्य सीमानाका मात्र खुला गर्ने गृहको तयारी छ ।

नेपालसहित १४ देशको दोहा उडान रोक्यो कतारले कतारले

नेपालसहित १४ देशबाट हुँदै आएको दोहाको उडान अस्थायी रूपमा निलम्बन गरेको छ । कोरोना भाइरस रोकथामका लागि यो निर्णय गरिएको कतार सरकारको सञ्चार कार्यालयले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

यसअघि कतारबाट इटाली आउने–जाने उडान बन्द गरेको कतारले नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डमा हुने उडान बन्द गरेको हो । तर, यो निर्णय कहिलेदेखि लागू हुने भन्ने सूचनामा स्पष्ट उल्लेख छैन ।

कतारले यी देशका नागरिकको अन अराइभल भिसा, वर्कपर्मिट, बसोवासको अनुमति तथा पर्यटकीय उद्देश्यका लागि जानेहरूलाई रोक्नेसमेत निर्णय गरेको छ । कतार सरकारले भनेको छ, ‘कतार आफ्ना नागरिक तथा निवासीलाई पनि यी देशमा यात्रा नगर्न अनुरोध गर्छ ।’ कतारमा करिब चार लाख नेपाली श्रमिक छन् ।

प्रतिक्रिया दिनुहोस्