कास्की । पोखरामा जारी २३औँ आहा रारा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । जसअन्तर्गत पहिलो दिन आज थ्रीस्टार र जावलाखेल युथ क्लब भिड्दैछन् ।
आज दिउँसो साढे २ बजेबाट सुरु हुने खेलको विजेता फाइनलमा पुग्नेछ । र, माघ २० गते उपाधिका लागि भिड्नेछ ।
आहा रारा गोल्डकपको इतिहासमा थ्रीस्टार र जावलाखेल तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि २०६८ सालको क्वार्टरफाइनलमा दुवै टिम पहिलोपटक भेट भएका थिए । उक्त खेलमा जावलाखेलले थ्रीस्टारलाई ३–१ ले जितेको थियो ।
तत्कालीन समयमा आहा रारा गोल्डकपमा पहिलोपटक सहभागी जावलाखेलले डेब्यू प्रतियोगितामै फाइनलसम्म पुगेको थियो । तर, फाइनलमा मनाङमस्र्याङ्दी बाधक बन्यो । फाइनलमा मनाङमस्र्याङ्दीसँग २–० ले पराजित भएको थियो ।
त्यस्तै, २०६९ को ११औं संस्करणको सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल दोस्रोपटक भिडेका थिए । उक्त खेलमा थ्रीस्टारले २–१ ले जावलाखेललाई रोक्न सफल रह्यो ।
क्वार्टरफाइनलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसी र जावलाखेलले मनाङमस्र्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएका हुन् ।
थ्रीस्टार आहा रारा गोल्डकपको ५ पटक उपाधि जित्दा जावलाखेल भने उपाधिविहीन छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहाराराको उपाधि जितेको छ ।
थ्रीस्टारको कप्तान राष्ट्रिय टिमबाट खेलिसकेका योगेश गुरुङले सम्हालेका छन् । क्लबकै पूर्वकप्तान विक्रम लामाको प्रशिक्षणमा विराज महर्जन, आशिष चापागाईं, आदित्य शाक्य, दीपेश आले, अभिशेषक बराललगायत खेलाडी टिममा छन् ।
यस्तै, जावलाखेल नरेश थापाको प्रशिक्षणमा मैदान उत्रिएको छ । जावलाखेल टिममा राष्ट्रिय टोलीका छिरिङ लामा, सुदीप गुरुङसहित समावेश छन् ।