काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुुलपतिमा प्राडा शिवलाल भुसाललाई निरन्तरता दिइएको छ । त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपतिमा प्राडा भुसाललाई नै निरन्तरता दिएका हुन् ।
भुसालको पुनः थप तीन महिना उपकुलपतिमा नियुक्त भएको त्रिविका प्रवक्ता योगेन्द्रप्रसाद दाहालले बताएका छन् ।
गत कात्तिक १६ गते उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको ४ वर्षे कार्यकाल सकिएपछि प्रधानमन्त्री प्रचण्डले निमित्त उपकुलपतिमा रजिष्टार भुसाललाई नियुक्त गरेका थिए । उपकुलपति नियुक्त नभईन्जेलसम्म उनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।
गत कात्तिक १७ गते तीन महिनाको लागि निमित्त उपकुलपतिमा नियुक्त भएका उनको मंगलबारदेखि अवधि सकिएपछि पुनः निरन्तरता दिएको हो । यस पटक खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्नको लागि दखास्त आवह्रान गरिएको थियो । त्यसमा ४३ जनाले आवेदन दिएका थिए । तर, मंगलबारभित्र उपकुपति नियुक्ति गरिसक्नुपर्ने भएकाले भुसालाई नै पुनः नियुक्ति दिइएको हो ।