काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध कमजोर सुरुवात गरेको छ ।
बंगलादेशले पहिलो पावर प्लेभित्रै नेपालको तीन विकेट लिएको छ । नेपालले ८ ओभार ३ बलमा ओपनर अर्जुन कुमाललाई व्यक्तिगत १४ रनमा गुमाएको हो ।

बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट क्रिजमा कप्तान देव खनाल र विशालविक्रम केसी क्रमशः शून्य र दुई रनमा खेलिरहेका छन् ।
जारी खेलको नौ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ३१ रन बनाएको छ ।
प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् ।
नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।
यता, बंगलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।
आजको खेलपछि नेपालले सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।














