काठमाडौं । गत शुक्रबार विमानस्थलमा रहेको अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीबीच कुटाकुट भयो ।
घटनामा संलग्न दुवै पक्षले आ–आफ्नो कमजोरी भने स्विकारेका छैनन् । घटनामा संलग्न व्यक्तिहरू मात्र नभई उनीहरूसम्बद्ध सङ्गठनहरू नै आ–आफ्नाको बचाउमा उभिएका छन् । जसका कारण यो विषय निकै पेचिलो बनेको छ ।

अध्यागमन कर्मचारीले विमानस्थलमा प्रहरीको ज्यादती बढेको आरोप लगाउँदै आएको छ । उनीहरूले कर्मचारीलाई प्रहरीले कुटपिट गरेको भन्दै कालोपट्टि बाँधेर काम गरिरहेका छन् ।
सुरक्षा जाँचमा आफ्नो गल्ती कर्मचारीले स्वीकारे पनि प्रहरीले कुटपिट गरेको आरोप लगाउँदै आएका छन् । प्रहरीले भने प्रतिरक्षा मात्रै गरेको दाबी गरेको छ । सार्वजनिक भिडियोमा भने अध्यागमन कर्मचारीले पनि हात हालेको र लात्ती हानेको देखिन्छ ।
तर, कर्मचारीले भने प्रहरीमाथि हाल हालेको अस्वीकार गर्दै आएको छ । प्रहरीमाथि हात हालेको गलत प्रचारबाजी भएको भन्दै उनीहरूले कालोपट्टि बाँधेर काम गरिरहेका छन् । यही बेला विमानस्थलको सबै सुरक्षा सशस्त्र प्रहरीलाई दिनुपर्ने कुरा कर्मचारी सङ्गठनहरूले माग गर्न थालेका छन् ।
पछिल्लो पटक प्रहरीले भिजिट भिषामा अध्यागमनका कर्मचारीको मिलेमतो रहेको भन्दै अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको र अन्य केहीलाई पनि शङ्कास्पद ढङ्गले हेर्न थाले पनि विवाद बढ्दै गएको थियो ।
शुक्रबार त्यहाँ कार्यरत प्रहरीले लाइनमा मान्छे बिचबाट छिराएको र लाइनमा मान्छे पठाउन भनेपछि कर्मचारीसँग विवाद बढेको थियो । त्यही बेला अधिकृत मोक्तानले थप विवाद गरेको त्यहाँ कार्यरत कर्मचारीको दाबी छ ।
सार्वजनिक सिसिटिभी फुटेजमा पनि अध्यागमन अधिकृत मोक्तानलाई ड्युटीमा खटिएका प्रहरीले चेकजाँच गर्न खोज्दा वादविवाद भइरहेको र त्यसपछि धकेलाधकेलबाट परस्पर हातपातसम्म पुगेको देखिन्छ ।
दुवै पक्षबीच केही समयदेखि गम्भीर तिक्तता रहँदै आएको छ । त्यही कारणले गर्दा शुक्रबार हात हालाहालको स्थिति सिर्जना भएको हो । तर दुवैले आआफ्नै दलिल पेस गरेका छन् र एकअर्काको दोषारोपणमा उत्रिएका छन् ।














