
काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।
आजको खेल जित्ने टिमले शनिबार हुने २३औं आहारारा पोखरा गोल्डकपको उपाधिका लागि थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नै जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार फाइनल प्रवेश गरिसकेको छ ।
आहारारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् । अघिल्लो संस्करणदेखि सहभागी हुन लागेको चर्चब्वाइज पहिलो संस्करणमै सेमिफाइनलसम्म पुगेको थियो । तर, सेमिफाइनलमा अमेरिकन टिम बीवाईएससीसँग १–० ले पराजित हुँदा उपाधि नजिक पुगेर पनि बाहिरिनुप¥यो ।
चर्चब्वाइज बाइ पाउँदै सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा आहाराराकै सर्वाधिक सफल टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएको हो ।
आहाराराको पुरानो र अनुभवी त्रिभुवन आर्मी क्लब हालसम्म उपाधिविहीन छ । पटकपटक फाइनल पुगेर पनि हार व्यहोर्दा हालसम्म उपाधि जित्न सकेको छैन । आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ सहभागिता हो ।














