
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका ६ सय ५६ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगार विभिन्न देश पुगेका ६ सय ५६ जनाले कार्यस्थलमा दुर्घटना, सडक दुर्घटना र आत्महत्या लगायतका कारण ज्यान गुमाएका हुन् ।
यो संख्या ६ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउने अझै धेरै होलान् ।
बोर्डका अनुसार पछिल्लो ६ महिनामा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।
पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो संख्यामा नेपाली श्रमिक मृत्यु हुने गरेका छन् । बोर्डको तथ्यांक अनुसार औसतमा दैनिक पाँच वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।
बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको २०८०/ ८१ को पुस महिनासम्म १३ हजार ७७ जनाले ज्यान गुमाएका छन् । यो संख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् ।
चालु आर्थिक वर्षको छ महिनामा तीन लाख ५० हजार वैदेशिक रोजगारीमा गएकामध्ये ६ सय ५६ नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।














