Logo
Logo

वंशले शासन गर्ने दिन गए : माधबकुमार नेपाल


756
Shares

लमही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले वंशले शाशन गर्ने दिन गएको बताएका छन् । एकीकृत समाजवादी दाङले आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् ।

‘राजा महाराज र तीनका दासहरुले जतिसुकै जनता भड्काउने प्रयास गरेपनि त्यो असफल हुनेछ । बाउले शाशन गर्ने, बाउ नभए छोराले शाशन गर्ने, के अब जनताले यस्तो सहन सक्छ ? सक्दैन । अब वंशले शाशन गर्ने दिन गए ।’ उनले भने । ‘राजा महाराजाले देशको सम्पत्ति लुट्ने कुरालाई स्वीकार गर्न सकिदैन’, नेता नेपालले थपे, ‘शाशन चलाउने भए जनतामा जानुस्, पार्टी खोल्नुस् । दुःख गर्नुस् । जनताको मन जितेर आउनुस् ।’

अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रति जनताले भरोसा गरेको बताए । आफ्नो पार्टी महाधिवेशन सम्पन्न गर्न लागेको भन्दै उनले जबजको सान्दर्भिकता नसकिएको बताए । ‘जबज सकियो भन्नु बहुदलीय प्रतिस्पर्धा अस्विकार गर्नु हो । जन्मजात जबजको विरोध गर्नेहरुले मात्र यसको विरोध गर्न सक्छन् ।’ नेता नेपालको भनाइ थियो ।

त्यस्तै पूर्व मन्त्री एवं सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरेको बताए । ‘गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गर्दा पनि उनीहरु निरन्तर असफल भइरहेका छन् । उनीहरुको केही उपाय लागिरहेको छैन । वर्तमान गठबन्धनको विकल्प छैन ।’ चौधरीले भने ।

भेलामा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य टोपेन्द्र केसी, विवेकशील साझाका केन्द्रीय सदस्य शरद केसी, वाइसिएल नेपालका केन्द्रीय सदस्य प्रशान्त चौधरी, नेपाली कांग्रेस दाङका क्षेत्रीय सदस्य सरिक मियाँ लगायत १४ सय ७ जना एकीकृत समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख सूर्य बिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्