Logo
Logo

नक्कली टिकट प्रकरण : उद्योग वाणिज्य संघका महासचिवसहित चार जनाले गरे आत्मसमर्पण


4k
Shares

धनगढी । अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’मा नक्कली टिकट बिक्री प्रकरणमा मुछिएका चार जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

महोत्सवमा नक्कली टिकट बिक्री गरेर आर्थिक हिनामिना गरेको आरोप लागेका अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलीपकुमार साउद, सदस्य बमबहादुर बोगटी र भुवन महराले जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । प्रहरीका अनुसार उनीहरुले शुक्रबार आत्मसमर्पण गरेका हुन् ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार आत्मसमर्पण गरेका चारै जनामाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

नक्कली टिकट बिक्री प्रकरणमा अध्यक्षसहितका १२ जना पदाधिकारीले सुरुमा साउद र महराविरुद्ध किटानी जाहेरी दिएका थिए । तर, संघका अध्यक्ष कल्याणसिंह बोहराले भोलिपल्ट महासचिव खड्का र बोगटीकाविरुद्ध पनि किटानी जाहेरी दिएका थिए ।

यस प्रकरणमा जोडिएका संघका सचिव दिलीपकुमार साउद गोदावरी नगरपालिकाका मेयरका स्वकीय सचिवसमेत हुन् । यस घटनामा मुछिएपछि मेयरको सचिवालयले उनलाई हटाएको छ ।

२६ पुसदेखि सुरु भएको प्रादेशिक महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरी आर्थिक अनियमितता गरेको भन्दै संघले सुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो । जिल्ला प्रशासन कार्यालयले यस घटनाबारे प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्