काठमाडौं । उद्योगी अरुण चौधरीसँग केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआइबी)ले बयान लिएको छ । बाँसबारी छाला जुत्ता कारखानको १० रोपनी सरकारी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापासँग प्रहरीका अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन् ।
यही १८ माघमा पक्राउ परेका चौधरी र थापा हाल ग्रान्डी अस्पतालमा उपचाररत छन् । उनीहरूलाई शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं ल्याएर बयान गराइएको सीआइबीले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठको रोहबरमा अनुसन्धान अधिकृतहरुले उद्योगी चौधरी र थापासँग करिब १० घण्टा बयान लिएका थिए ।
बाँसबारीको १० रोपनी जग्गा हिनामिनाबारे अनुसन्धान अधिकृतहरूले आवश्यकता अनुसार पूरक बयान पनि लिन सक्छन् । तर, उनीहरूको प्रारम्भिक बयान पूरा भएको सीआइबीले जनाएको छ ।
सरकारी वकिल कार्यालयको बयानमा चौधरीले जग्गा फिर्ता गर्न तयार रहेको बताएका छन् । अनुसन्धान अधिकृतहरूसँगको बयानमा उनले भनेका छन्, ‘हाम्रो लगानी अनुसार बाँसबारी छाला जुत्ता कारखानाले जग्गा दिएको थियो तर, सो जग्गा फिर्ता गर्न म तयार छु ।’
यस्तै, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष थापाले जग्गा निजीकरण गर्नुअघि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबाट निरीक्षण टोली गएको बताएका छन् । उनले बयानमा भनेका छन्, ‘मन्त्रालयबाट आउनेहरूले पनि जग्गा हस्तान्तरण गर्न नमिल्ने कुरा गरेनन्, मेरो तर्फबाट पनि गल्ती भएछ ।’
बासबारीको जग्गा हिनामिना गरेको अपरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर अहिले थुनामा छन् । उनीहरमाथि सीआइबीले अनुसन्धान गरिरहेको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्डमा सरकारसँग साझेदारीमा च्याम्पियन फुटवेयर कम्पनी स्थापना गरेर चौधरी समूहले जग्गा निजीकरण गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।














