काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देश राम्रोसँग चलेको जस्तो नलागे पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक प्रक्रियाबाट आफैं प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले शासन प्रणाली ठीक ढंगले चलेको छैन र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न ज्ञानेन्द्रलाई सुझाव दिएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘यदि राज्य शासन प्रणाली ठीक ढंगले चलेको छैन भने मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ, चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ ।’
उनले अहिले राष्ट्रपति हुने मान्छेको अभाव नभएको बताउँदै भने, ‘काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदि विवाद हो भने प्रधानमन्त्री बन्न चाहनुहुन्छ भने आउनुस् ।’
पछिल्लो समय सार्वजनिक कार्यक्रममा भाषण गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले देशको अवस्था नियालिरहेको र जनता सन्तुष्ट नरहेको पाएको धारणा राख्दै आएका छन् । सोही भनाइ लक्षित गर्दै अध्यक्ष नेपालले यस्तो टिप्प्णी गरेका हुन् ।














