Logo
Logo

विचार निर्माणको क्षेत्रमा नयाँ आशा




पठन संस्कृति कमजोर बन्नु पार्टी जीवनका निम्ति अत्यन्त दुःखद कुरा हो । पछिल्लो समय राजनीतिक दलमा आवद्ध नेता कार्यकर्ताहरू पठनीय कार्यभन्दा सामाजिक सञ्जालमा मस्त र व्यस्त रहेको कुरा घाम जस्तै छ ।

मान्छे, मान्छे बन्न सजिलो छ, तर कम्युनिष्ट बन्न गाह्रो छ । हरेक मान्छे कम्युनिष्ट बन्न सक्दैन । कम्युनिष्ट बन्न सबैभन्दा पहिला उसमा अध्ययन हुनुपर्छ । जीवन र जगतलाई बुझ्ने चेतना हुनुपर्छ । हाम्रा अग्रज नेताहरू त्यसै नेता भएका होइनन्, उनीहरू अध्ययन, चिन्तन, मनन गर्दै यहाँसम्म आइपुगेका हुन् । कम्युनिष्ट पार्टीको स्थापना कालदेखि अहिलेसम्म जति नेतालाई हामीले चिन्छौँ अथवा नाम सुन्छौँ ती सबै अध्ययनले खारिएका नेताहरू हुन् ।

अध्ययन, चिन्तन, मनन नगर्ने व्यक्ति कम्युनिष्ट पार्टीमा रहन सक्दैनथ्यो । कम्युनिष्ट पार्टीको सदस्यता लिन पनि थुप्रै चरण पार गर्नुपथ्र्यो । राजनीतिक लाभको पद लिने कुरा नेता तथा कार्यकर्ताको दिमागमै हुँदैनथ्यो । जेलनेल भोग्न मात्र होइन, जीवनकै बलिदानी दिन तयार भएर क्रान्तिमा होमिन्थे ।

खासगरी कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूमा पठन संस्कृतिको कमी देखिनुले वर्गीय चिन्तनमा आघात पुर्याएको छ । आन्तरिक लोकतन्त्र कमजोर बनाएको छ । अध्ययन, अनुसन्धानले नै मानिसमा चेतना भर्ने र आलोचनात्मक चेतको विकास गर्ने काम गर्दछ । पार्टी संगठनमा विचार गोष्ठी, अन्तत्र्रिmया र समालोचना जस्ता कार्यक्रमहरू पातलो बन्दै गएको छ । पठन कार्यले चिन्तन र चिन्तनले विचार निर्माण गर्न मद्दत गर्छ । तर, आजका अधिकांश कम्युनिष्ट नेता कार्यकर्ताहरू पत्रिकासमेत हेर्दैनन्, किताब किनेर पढ्ने कुरा त धेरै परको कुरा बनेको छ ।

संवेदनशील विचार र सवालहरू छन्, जसका बारेमा कम्युनिष्ट विचारधाराका पार्टी संगठनहरूले समयमै छिनोफानो गर्नुपर्छ । पूँजीवादी व्यवहार बोकेर समाजवाद पढाउनेहरूबाट जोगिदै पढ्नेहरूले यस्ता विषयका बारेमा प्रश्न गर्नुपर्छ । जसले प्रियतावाद र यथास्थितिवादको समुल अन्त्य गर्न सहयोग गर्छ ।

यद्यपि, नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय स्कुल विभागले केही राम्रा प्रयास र प्रयत्नहरू गरिरहेको देखिन्छ । हालै भक्तपुरको नगरकोटमा (माघ ३ देखि १० सम्म) आठ दिने आवासीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रशिक्षण कार्यक्रममा ४५ जनाले भाग लिएका थिए । आठदिने आवासीय प्रशिक्षणमा महत्वपूर्ण सैद्धान्तिक, वैचारिक र राजनीतिक विषयमा गहन र सघन बहस भएको थियो ।

वैचारिक आशावाद
एउटा कम्युनिष्ट कार्यकर्ताका निम्ति सैद्धान्तिक, वैचारिक र राजनीतिक विषय चानचुने कुरा होइनन् । जति विषयमाथि बहस र छलफल भए, ती विषयका बारेमा बुझेर प्रशिक्षक बन्ने आठ दिनको समय निक्कै कम हो । व्यक्तिगत रूपमा मेरा लागि आवासीय प्रशिक्षण निक्कै उपलब्धिमुलक रह्यो । र, स्नाकोत्तर तहमा राजनीतिशास्त्र अध्ययन गर्दा पढेका धेरै विषयको पुनःताजकीसमेत भयो ।

साच्चै आज पार्टी संगठनभित्र विचारका कामहरू अवरुद्ध छन् । जसका कारण लोकतन्त्र कमजोर त बन्छ नै, त्योसँगै राजनीतिमा रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणको कार्यसमेत प्रभावित बन्छ । विचारको निर्माण र पुनर्निर्माणको काम ठप्प बन्छ । विचार निर्माणका निम्ति यस्ता आवासीय तथा गैर आवासीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न अत्यन्तै आवश्यक छ ।

यस्ता प्रशिक्षण, विचार गोष्ठीले वैचारिक आशावादलाई जीवित तुल्याउछन् । मानिसहरूमा आशा जगाउने काम गर्छ । पार्टी संगठनलाई वैचारिक र सैद्धान्तिक रूपमा क्रान्तिकारीपन दिन मद्दत गर्छ । यस हिसाबले पनि यस्ता प्रशिक्षणहरू निरत्नर जारी राख्नुपर्ने हुन्छ ।

भनिन्छ, अध्ययनका तीनवटा तरिका छन् । स्वअध्ययन, किबाबको अध्ययन र जीवनको अध्ययन । यहाँ पार्टी संगठनहरूले गर्ने अध्ययन मिश्रित छन् । जहाँ किताबका कुरा पढाइन्छ । जीवन पढाइन्छ । स्वअध्ययन पनि हुन्छ । यसअर्थ पनि एकीकृत समाजवादीको पार्टी स्कुल विभागले विचार निर्माणको क्षेत्रमा नयाँ आशावाद जगाउने काम गरिरहेको देखिन्छ ।

राम्रो काम गरिरहेकाहरूको बारेमा लेख्न र प्रचार गर्नु लेखकहरूको धर्म हो । साथै स्रोत साधान र समयले भ्याएसम्म यस्ता आवासीय प्रशिक्षण, विचार गोष्ठि, छलफल र अन्तत्र्रिmया जति सक्यो धेरै गर्दा राजनीतिक समाजको निम्ति राम्रो हुन्छ भन्ने कुरा जानेकै कुरा हो ।

अन्त्यमा, पार्टी स्कुलका नेताहरू, अध्ययनमा रूचि राख्नेहरू र वैचारिक चिन्तनमा व्यस्त रहेका व्यक्तिहरूले केही विषयमा चाँडोभन्दा चाँडो स्पष्ट हुन जरूरी छ । उक्त आवासीय प्रशिक्षण कार्यक्रममा पूँजी आफैमा दलाल हुन्छ कि हुँदैन, दलाल पूँजीवाद भन्ने या वित्तीय पूँजीवाद भन्ने, समाजवाद स्थापना हुन्छ या कार्यान्वयन हुन्छ, नेपाली समाजको वर्ग चरित्र र प्रधान अन्तरविरोध को हो भन्ने खालका केही महत्वपूर्ण सवालहरू बहसका विषय बने । जसको बारेमा आगामी दिनमा छलफल त होलान्, तर ढिलो गरिनु हुँदैन । त्यस्तै निजत्वका विषयमा समेत केही अस्पष्टता र आफू अनुकुल ब्याख्या भएका सुनिए । जसले हामीलाई फाइदा गर्दैन ।

माक्र्सले इतिहासको ब्याख्या गरेको ऐसिहासिक ब्याख्यालाई हेर्दा पनि मानव समाजको विकसित इतिहास वर्ग संघर्षसँग जोडिएको छ । त्यो वर्ग संघर्ष शक्ति र सम्पत्तिका निम्ति भएको देखिन्छ । यसअर्थ मानव इतिहास निजत्वसँग जोडिएर आएको कुरा प्रष्ट छ । निजत्वमाथिको नियन्त्रण र सन्तुलन कायम गरेर समाजवादको कार्यान्वयन गर्ने कुरा मनासिव देखिन्छ ।

खैर, यस्ता केही संवेदनशील विचार र सवालहरू छन्, जसका बारेमा कम्युनिष्ट विचारधाराका पार्टी संगठनहरूले समयमै छिनोफानो गर्नुपर्छ । तोरी र कोदो पेलेर तेल निस्किन्छ भन्ठान्नु मुर्खता हो । पूँजीवादी व्यवहार बोकेर समाजवाद पढाउनेहरूबाट जोगिदै पढ्नेहरूले यस्ता विषयका बारेमा प्रश्न गर्नुपर्छ । साथै यस्ता प्रशिक्षण सबै पार्टी र संगठनले जारी राख्नुपर्छ । जसले प्रियतावाद र यथास्थितिवादको समुल अन्त्य गर्न सहयोग गर्छ । रूपान्तरका अभियान सञ्चालनमा सहयोग पुर्याउछन् ।

प्रतिक्रिया दिनुहोस्