Logo
Logo

सडक कालोपत्रेको माग गर्दै गाँउपालिका अध्यक्ष नै आन्दोलनमा


504
Shares

पोखरा । ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक कालोपत्रेको माग गर्दै गाउँपालिका अध्यक्ष राजु थापासहितका स्थानीय बासिन्दाले आइतबार करिब ४ घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका हुन् ।

‘ट्रयाक खोलेको २५ वर्ष भइसक्दा पनि बाटोको अवस्था सुध्रिएन । पटकपटक डेलिगेसन गयौं, अरु आन्दोलन गर्दा पनि भएन’, गाउँपालिका प्रवक्ता टीकासंगम विकले भने, ‘अति भएपछि अध्यक्षज्यूकै नेतृत्वमा यो कदम चाल्न बाध्य भयौं ।’ सडक कालोपत्रेका लागि आफूहरुले संघीय सरकारलाई फागुन २ गतेसम्मको समय दिएको र त्यसबीचमा पनि चासो नदेखाए थप आन्दोलनका कार्यक्रम ल्याउने तयारी भइरहेको प्रवक्ता विकले बताए ।

‘आजलाई सांकेतिक रुपमा बाटो बन्द गर्यौँ । अझै बेवास्ता गरे २ गतेपछि थप सशक्त रुपमा जाने भन्ने छ’, उनले भने ।
सदरमुकाम बागलुङ बजारसँग जिल्लाका पश्चिमी क्षेत्रलाई जोड्ने गरी २०५६ सालमा बागलुङ–घोडाबाँधे सडक निर्माण सुरु भएको थियो । पहिले एसियाली विकास बैंकको सहयोगमा बन्न सुरु गरेको उक्त सडकखण्डपछि मध्यपहाडीमा जोडियो ।

तर, मध्यपहाडीमा जोडिएपछि पनि जनताले खेप्नुपरेको हैरानी उस्तै रहेको काठेखोला ५ का वडाध्यक्ष ज्ञाननाथ कँडेल दुखेसो पोख्छन् । ‘झन् अहिले त पहिलेको ठेकेदारले राखेको कालोपत्रे पनि उप्कियो । हामीहरु सधैं जोखिमपूर्ण यात्रा गरिरहेका छौं’, उनले भने, ‘धुलोधुवाँले बाटोदेखि २, ३ सय मिटर टाढासम्म केही लगाउन नहुने भयो ।’

मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको पर्वतखण्डअन्तर्गत कुल २ सय ५० किलोमिटर पर्दछ । पर्वतखण्डमा बागलुङसहित, कास्की र पर्वतका सडक पर्दछन् । त्यसमध्ये सबैभन्दा धेरै अर्थात १ सय ३६ किलोमिटर बागलुङमा पर्छ ।

मध्यपहाडीअन्तर्गत बागलुङ जिल्लामा पर्ने काठेखोला गाउँपालिकामा २५ किलोमिटर पर्छ । त्यसलाई पनि २ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । तर, दुवै भागतर्फ म्याद सकिएको लामो समयसम्म काम पूरा नहुँदा स्थानीयसँगै यात्रुले लामो समयदेखि दुख पाउँदै आएका छन् ।

उपल्लोचौरदेखि अक्षेते–बिहुँखण्डको १३ किलोमिटर २०७३ साल माघमा भारत/सिद्धिसाई जेभी र बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर २०७२ माघमा एमपी/एससीएफ/ईसीसी जेभीले ठेक्का पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्