Logo
Logo

क्यान्सरविरुद्व एकताबद्ध भएर लागौँ : स्वास्थ्यमन्त्री मोहन बस्नेत



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अर्बुद रोग (क्यान्सर) नियन्त्रणका लागि सरोकारवाला सबै एकताबद्ध हुन आह्वान गरेका छन् ।

विश्व क्यान्सर दिवस २०२४ का अवसरमा आज मन्त्रालयमा आयोजित सरोकारवालासँगको छलफल एवं अन्तरक्रियात्मक कार्यक्रममा उनले ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति, २०८०–८७’ अन्तिम चरणमा रहेको जानकारी दिँदै रणनीतिले क्यान्सरविरुद्व एकताबद्ध भएर लड्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे ।

‘यस दिवसका अवसरमा नयाँ रणनीति र कार्ययोजना बनाएर यसविरुद्व हामी एकीकृत रुपमा लडनुपर्छ’, मन्त्री बस्नेतले भने, ‘यो रोग तत्काल उन्मूलन गर्छौं भन्ने अवस्थामा छैनौँ तर यसलाई न्यूनीकरण र नियन्त्रण गर्दै जाने कुरामा यस रणनीतिले धेरै ठूलो सहयोग पुग्ने मैले विश्वास गरेको छु ।’

उनले सरोकारवाला सबैको सल्लाह र सुझाव समेटेर रणनीतिको प्रभावकारी कार्यान्वयन गर्नका लागि प्रतिबद्धतासमेत व्यक्त गरे । मन्त्री बस्नेतले क्यान्सरसँगसँगै सर्ने र नसर्ने रोगको नियन्त्रणका लागि स्वास्थ्यकर्मीको भूमिकाको समेत प्रशंसा गरे ।

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले निर्माणकै चरणमा रहेको रणनीतिबारे कार्य प्रस्तुति दिए । ‘यो रणनीति क्यान्सर रोगको भार र मृत्युदरलाई घटाई स्वास्थ्य जीवन प्रवद्र्धन गर्ने दूरदृष्टि छ’, डा मरासिनीले भने, ‘रणनीति छिट्टै ल्याउने छौँ, अन्तिम रुप दिने तयारी भइरहेको छ ।’

यस्तै अर्बुद रोग(क्यान्सर)को नियन्त्रण एवं उपचारमा पहुँच वृद्विका लागि सरकारले जनचेतना अभिवृद्विसँगै आवश्यक उपकरण र स्वास्थ्य जनशक्ति बढाउन चिकित्सकहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विश्व अर्बुद रोग दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित सरोकारवालासँगको छलफलमा क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सरको बढ्दो जोखिमप्रति सचेत गराउँदै उपचारलाई पहुँचयोग्य बनाउन सुझाव दिएका हुन् ।
वीर अस्पतालका क्यान्सर विभाग प्रमुख प्राडा विवेक आचार्यले क्यान्सर उपचारका लागि अत्यावश्यक ‘रेडियो मेसिन’ को अभावप्रति मन्त्रालयको ध्यानाकर्षण गराए ।

उनका अनुसार अहिले ३० देखि ३५ रेडियसन मेसिनको आवश्यकता छभने देशभर सरकारी र निजी दुवै गरी ११ वटा मात्र रेडिसन मेसिन उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्