
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने भन्दै आक्रोश व्यक्त गरेका छन् ।
शहरी विकास मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको धरहराको बेसमेन्टमा पार्किङ नगराउन भन्दै महानगरपालिकालाई पत्र काटेपछि मेयर बालेनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै पार्किङ बन्द नहुने जवाफ दिएका हुन् ।
उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पूरा नभएको भन्दै अहिले आएर पार्किङ बन्द गर्नु भनेर पत्र लेख्नुलाई उनले निर्लज्ज कार्य भनेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्दा दिएको अभिव्यक्तिको स्मरण गराउँदै उनले भनेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा ‘नबनेको भए म बीसौं तलामा कसरी पुगें’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्ने केपी ओलीलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’
काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो । बालेनले त्यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने मेयर बालेन शाहले बताएका छन् । अहिले त्यहाँको पार्किङलाई ठेक्कामा लिएर रजाइँ गर्ने मनसाय पनि देखिएको शंका गर्दै उनले महानगरले निजी स्वार्थका लागि प्रयोग हुन नदिने चेतावनी समेत दिएका छन् ।
साथै उनले तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उद्घाटन हुने जस्ता कुप्रवृतिलाई निरूत्साहित गर्न जरुरी रहेको बताएका छन् ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न समेत उनले चेतावनी दिएका छन् ।














