
काठमाडौं । सहरी विकास मन्त्रालयले पठाएको एक पत्रका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आक्रोशित बनेका छन् । मन्त्रालयले धरहराको निर्माण सम्पन्न भइनसकेकाले बेसमेन्टमा सञ्चालित निःशुल्क पार्किङ रोक्न माघ १४ गते काठमाडौं महानगरलाई पत्र काटेपछि बालेन आक्रोशित बनेका हुन् ।
अग्नि नियन्त्रण प्रणाली, विद्युतीय उपकरण र सिसिटिभी लगायतको जडान बाँकी रहेको अवस्थामा मन्त्रालय अन्तर्गतको केन्द्रीय कार्यान्वयन इकाईसँग समन्वय नै नगरी बेसमेन्टमा पार्किङ गर्न थालिएको भन्दै मन्त्रालयले पार्किङ रोक्न परिपत्र गरेको थियो ।
‘विभिन्न छुटपुट कार्यहरू सम्पन्न गर्न बाँकी नै रहेको अवस्था छ । ती कार्य सम्पन्न नै नगरी भूमिगत पार्किङ सञ्चालन गर्दा निस्सासिने भई मानविय क्षतिसमेत हुने सम्भावना देखिएको एवं गर्न बाँकी रहेका कार्यहरू सम्पन्न गर्न बाधा व्यवधान समेत उत्पन्न हुने र निर्माण व्यवसायीबाट यस इकाईलाई आयोजना सम्पन्न भई हस्तान्तरण नभएको सन्दर्भमा निर्माणस्थलमा अनगिन्ति र अनाधिकृत व्यक्तिहरू र सवारी साधनहरूको प्रवेशले निर्माण स्थलको सुरक्षामा थप चुनौती बढ्न सक्छ,’ पत्रमा भनिएको थियो ।
निर्माण सामग्रीहरूको टुटफुट एवं बनिसकेका संरचनाहरूमा क्षति हुने जोखिम पनि मन्त्रालयले औंल्याएको थियो ।
‘त्यसको जिम्मेवारी कसले लिने ? भन्ने विषय अन्योल रहेको छ । अर्कोतर्फ यस इकाईबाट निज निर्माण व्यवसायीलाई समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिइएको र हाल सो अनुरूप कार्य भइरहेको अवस्थामा आयोजना सम्पन्न हुनासाथ उक्त पार्किङको पूर्ण क्षमता अनुसार पार्किङ सञ्चालन गर्न सकिने भएकोले हाललाई निर्माण कार्य नसकुञ्जेल उक्त पार्किङस्थलको उपयोग गर्ने कार्य तत्काल नगरिदिँदा बाँकी रहेका निर्माण कार्यहरूलाई यथाशक्य चाँडो सम्पन्न गर्न सहयोग पुग्नेछ,’ पत्रमा उल्लेख छ ।
मन्त्रालयको यस परिपत्रपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आक्रोशित बनेका हुन् । ‘आज भन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उद्घाटन भयो । सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भन्नुभएको थियो–आज एक ऐतिहासिक काम सम्पन्न भएको छ । राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे। तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ– धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नू,’ उनले भनेका छन् ।
उनले नबनेको भए म ‘बीसौं तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्ने केपी ओलीहरूलाई पत्र लेख्नु उपयुक्त हुनेसमेत जवाफ फर्काएका छन् । तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन गर्ने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउन पनि मेयर बालेनले जोड दिएका छन् ।















