काठमाडौं । नेकपा एमाले धादिङ जिल्ला कमिटीको आइतबार स्थगित भएको नवौँ अधिवेशन भोलि मंगलबार हुने भएको छ । अधिवेशनको बन्द सत्रमा विवादसँगै कुटाकुटा भएपछि केन्द्रले हस्तक्षेप गर्दै भोलिका लागि अधिवेशन गर्न निर्देशन दिएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षका नेताहरूलाई काठमाडौं बोलाएर संगठन विभागको प्रत्यक्ष अनुगमनमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् । अध्यक्ष ओलीको निर्देशनपछि एमाले नवौँ जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले सोमबार बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र मंगलबारबाट सुरु हुने जानकारी दिएका छन् ।

यसअघि आइतबार अध्यक्ष देवकोटासहितका नेताले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीले विवादका विषय निरूपण गरेर अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् । अधिवेशनको सुरुमै दुई पक्षबीच मनमुटाज हुँदा कुटाकुटसम्म भएको थियो ।
सो क्रममा एकजना कार्यकर्ताको हात भाँच्चिएको थियो । तर, अझै विवाद कायम रहेकाले केन्द्रको प्रत्यक्ष निगरानीमा भोलि बन्द सत्रबाट अधिवेशन सुरु हुने बताइएको छ ।














