Logo
Logo

हिंसा दोहोरिन नदिने गरी सहमतिमै टीआरसी विधेयक पारित गर्नुपर्छ : ओली


378
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

सोमबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले टीआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरू नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्ने बताएका हुन् ।

पीडितहरूले न्याय पाउने, पीडितकेन्द्रित कानुन बनउनुपर्ने, अन्तर्राष्ट्रियस्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने ओलीको भनाइ छ । मानवताविरुद्धका जघन्य अपराधहरूमा छुट नहुने गरी र दण्डहिनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने उनको धारणा थियो ।

‘टीआरसी पास गर्नुपर्छ । यसमा मस्यौदामा केही नमिलेका कुराहरू छन् । त्यसलाई मिलाएर पास गर्नुपर्छ । नमिल्नुपर्ने कारण नै छैन । पीडितहरूले न्याय पाउनुपर्छ । पीडितकेन्द्रित हुनुपर्छ,’ ओलीले भने, ’अन्तर्राष्ट्रियस्तरमा स्वीकार्य हुने गरी, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर हुनुपर्छ । मानवताविरुद्धका जघन्य अपराधहरूमा छुट नहुने गरी, दण्डहिनता नहुने गरी र फेरि हिंसा नेपालमा कहिल्यै नहोस् त्यस ढंगले समाधान गर्नुपर्छ ।’

ओलीले संघीय सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको दाबी गरे । अहिले संघीयताको विरुद्धमा प्रश्न गर्नुभन्दा पनि सही ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको उनको भनाइ छ । पाएका अधिकार सही रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्