काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताए ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार भएको बताए ।

उनले भने, ‘सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइभर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्ने तर्फ कम्पनीका कार्यक्रम परिलक्षित छन् ।’
उनले टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवालाई नमुना दूरसञ्चार सेवाका रुपमा विकास गर्नका लागि यस वर्ष १९ जिल्लालाई छनोट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार, सेवाको वितरण प्रभावकारी बनाउने व्यवस्था मिलाइएको बताए ।
मन्त्री शर्माले भने, ‘सबै राजमार्गमा पहुँच र गुणस्तरीय सेवा पु¥याउने विषयलाई कार्यक्रममा राखिएको छ । यस वर्षदेखि सस्तो दरमा इन्टरनेटको अन्तर्राष्ट्रिय ब्याण्डविथ सेवा खरिद भएको छ ।’
साथै उनले हासिल हुन नसकेको बाँकी उपलब्धिको कारण पहिल्याई कमिकमजोरीमा सुधार गरी थप कार्ययोजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।














