काठमाडौं । ललितपुरको जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य पाँच महिनादेखि अचेत छन् ।
पुल्चोकस्थित होटेल स्क्वायरको स्वीमिङ पुलमा उनलाई करेन्ट लागेको परिवारका सदस्यहरूको भनाइ छ । शाक्यको उपचारका लागि घरमै मेडिकल उपकरण जडान गरिएकाे छ ।
बेलाबेला चिकित्सकहरूले परीक्षण गर्छन् भने हेरचाहका लागि एक जना नर्स राखिएको उनका भाइ विवेक शाक्यले जानकारी दिए । विवेकका अनुसार सजिलमान श्रीमती र साढे दुई वर्षकी छोरीसहित सेप्टेम्बर २ मा स्वीमिङ गर्न गएका थिए ।

सजिलमानले स्वीमिङ गर्दागर्दै श्रीमती र छोरीसँग फोटो खिचेका थिए । केहीबेरमा उनको हात लाइटमा पर्यो र करेन्ट लाग्यो । उनका श्रीमतीले छोरीलाई पुल बाहिर निकाले त्यसपछि श्रीमानतिर हेर्दा सजिलमान दुवै हात उचालेर कामिरहेका थिए ।
उनी डुब्न लागेपछि उनले पुन समाउन खोज्दा होटेलका स्टाफ आएर तत्काल होटेलकै गाडीमा मेडीसिटी अस्पताल लगियो । अचेत अवस्थामा अस्पताल पुर्याइएका उनको अहिलेसम्म होस् खुलेको छैन । हातको नाडीमा जलेको दाग छ ।
करिब दुई महिना अस्पतालमा उपचार गर्दा पनि उनी कोमामा रहे । अनि चिकित्सककै सल्लाहमा परिवारले उनलाई घरमा ल्याए । घरमै आइसियुको वातावरण बनाएर उनको उपचार भइरहेको विवेकले जानकारी दिएका छन् ।
होटेलले बिजुली चुहावट नरोक्दा भएको लापरबाहीले सजिलमान अचेत अवस्थामा पुगेको भन्दै परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा होटेल सञ्चालकविरूद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दिन पुगेका थिए । तर प्रहरीले समयमै जाहेरी नलिएको विवेक बताउँछन् ।
साढे चार महिनापछि मात्रै प्रहरीले जाहेरी लिएको उनले बताएका छन् । परिवार जाहेरी दर्ताको पक्षमा अडिदा सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरी कार्यालय पठाएको छ ।
होटेल सञ्चालकहरूलाई कारबाहीको माग राख्दै स्थानीय बासिन्दाले गत आइतबार पुल्चोकस्थित होटेल स्क्वायर अगाडि प्रदर्शन गरेका थिए । भोलि मंगलबार पनि न्यायकाे माग गर्दै प्रदर्शन गर्ने विवेकले जनाएका छन् । त्यसकाे लागि पब्लिकलाई आह्वान नै गरेका छन् ।

अहिले होटेल सञ्चालकहरूले विभिन्न राजनीतिक दलको शक्ति प्रयोग गरेर मुद्दालाई प्रभावित पर्न खोजिरहेको उनको आरोप लगाएका छन् । उनले भने, ‘राजनीतिक दलको पहुँचका कारण उनीहरू जिम्मेवारीबाट पन्छिन खोजिरहनु भएको छ ।’
आफूहरूले न्याय नपाउने भएकाले भाइ विवेकले पब्लिकलाई न्यायको माग गरिदिन आह्वान समेत गरेका छन् । उनले भनेका छन्– ‘पाँच महिनासम्म लड्दा पनि हामीले न्याय पाउने छाँटकाट देखेका छैनौँ । यसको लागि हामीले पब्लिकलाई आह्वान गरेका छाैँ ।’
यो घटनामा होटेलका सञ्चालक रोमी अर्याल र अर्का एकविरूद्ध पक्राउ पूर्जीसमेत जारी भइसकेको छ । होटेल सञ्चालकहरू केही समयदेखि भारतमा रहेको बताइएको छ ।














