
काठमाडौं । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई अदालतले २ दिनमा छाड्न आदेश दिएको छ ।
तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले माघ १८ मा पक्राउ गरेको थियो ।
सीआईबीले अनुसन्धान गरिरहेको बाँसबारी प्रकरणका आरोपीहरुलाई २५ दिनसम्म नै हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएको अदालतको ठहर छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले आरोपीतहरुलाई रिहा गर्न ५ वटा आधार आफ्नो आदेशमा उल्लेख गरेका छन् ।
आरोपीहरुको बयान सम्पन्न भएको हुनाले बुझ्नुपर्ने र कागज गराउनुपर्ने भएमा त्यसबारे बुझ्न र कागज गराउन २२ गतेदेखि लागु हुनेगरी न्यायाधीशले दुई दिनको म्याद दिएका छन् । आदेशअनुसार २३ माघ सम्म मात्रै प्रहरीले थुनामा राख्न सक्छ ।
आरोपीहरुले आफू उपर लगाइएको आरोपमा अनुसन्धानमा पूर्ण सहयोग गर्ने भनी इजलास समक्ष आफ्नो भनाई राखेको भन्दै न्यायाधीशले उनीहरुलाई ‘हाजिर जमानी’मा छाड्न आदेश गरेका छन् ।
राज्यको सम्पत्ति हिनामिना हुन जाने अवस्था भएमा हरेक नागरिकले अनुसन्धानमा सहयोग गर्नुपर्ने दायित्व र कर्तव्य सवैको रहने नै भएको उल्लेख गर्दै आदेशमा भनिएको छ–‘मुद्दा चलाउने, नचलाउने निर्णय गरी अभियोग पेश हुन बाँकी नै रहेको अवस्था छ ।’
विवादित जग्गा वा सम्पत्ति कसैलाई मास्न लुकाउन वा अहिले नै अन्यत्र हक हस्तान्तरण गरि अनुसन्धानलाई प्रभावित पार्न सक्ने अवस्था नरहेको अदालतको ठहर छ । आरोपित अजितनारायणको उमेर ८० वर्ष माथिको भएको हुनाले पनि छाड्नुपर्ने अवस्था रहेको अदालतको आदेशमा उल्लेख छ ।
दुईजना आरोपीहरु अरुण र सञ्जय पेशा ब्यवसायमा रहेर हजारौं नागरिकलाई रोजगारी दिएको र अभिभावकको भूमिका निर्वाह गर्दै आइरहेको भन्दै न्यायाधीशले थुना बाहिरै राखेर अनुसन्धान पुरा गर्न भनेका छन् ।
त्यस्तै, जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान गर्नु बाँकी रहेको भन्दै म्याद थपका लागी पेश गरेको ९ बुँदे आधार २५ दिनसम्म हिरासतमा राख्नुपर्ने नदेखिएको अदालतको निष्कर्ष छ ।
अदालतले दुईदिन अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने उल्लेख गर्दै भनेको छ– ‘सो नभएमा म्याद थप भएको दुई दिनभित्र यी प्रतिवादीहरुबाट बुझ्नुपर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमा निजहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नका लागी कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको काम पुरा गर्नु ।’















