
बुटवल । भारतबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणमा माछा प्रहरीले बरामद गरेको छ । सोमबार राति बलेरो पिकअप गाडीमा राखेर ल्याउँदै गरेको दुई हजार किलो माछासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार प्रहरीले हाटबजार लाईनबाट लु २ च ३३२९ नम्बरको पिकअप गाडीसहित सझार पछिया र चालक शिवकुमार यादवलाई नियन्त्रणमा लिएको हो ।
यसअघि प्रहरीले थोरै संख्यामा माछा बरामद गर्ने गरेको थियो । प्रहरीले पहिलो पटक यति ठूलो परिमाणमा माछा बरामद गरेको हो ।
प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा खटिएको टोलीले माछा बरामद गरेको हो । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।
उनीहरूले माछा कपिलवस्तुबाट ल्याएको भन्दै बिल देखाएका थिए। त्यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। नेपालमा उत्पादन गरिने माछा भन्दा भारतीय माछा सस्तो हुने भएकाले व्यवसायीहरूले भारतबाट ल्याउने गरेका छन् ।














