Logo
Logo

सुनसान तानेसन : पाल्पाली ढाका उद्योगलाई कोरोनाको प्रभाव


- दृष्टि न्युज/संवाददाता


पाल्पाली ढाका कपडाकी जननी ८२ वर्षीया पूर्णमाया महर्जन आफनै ढाका कपडा उद्योगमा ढाका बुन्दै । फाइल फोटो

रामपुर, ३० फागुन । कोरोना भाइरस संक्रमणको प्रभाव यहाँ विशेष गरी पाल्पाका ढाका उद्योग, होटल रेस्टुराँ तथा अन्य व्यवसायमा परेको छ ।
लुम्बिनी र पोखरा बीच भागमा पर्ने जिल्ला सदरमुकाम तानसेनको अहिले सुनसानजस्तै बनेको छ । लुम्बिनी र पोखरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल रहन्थ्यो । पर्यटक आउनेक्रम सुस्त भएसँगै यसको असर व्यवसायमा पुगेको हो ।
विशेष गरी पाल्पाली ढाका उद्योग र होटल व्यवसायमा सो भाइरसको संक्रमणबाट नराम्रो असर परेको सम्बद्ध व्यवसायी बताउँछन् । यहाँको पहिचानका रुपमा प्रख्यात ढाका उद्योगलाई कोरना भाइरसले असर पारेको पाल्पाली ढाका उद्योगी सागर महर्जन बताउँछन् । उनले भने, ‘कोरनाको सन्त्रासले ढाका उद्योगमा नराम्रो असर पुगेको छ । अहिले व्यापार व्यवसाय कम हँुदै गएको छ ।’ उत्पादन भएका ढाका कपडाका सामग्री बिक्री नहँुदा त्यत्तिकै पसल उद्योगमा समय बिताएर बस्नुपरेको उद्योगी व्यवसायी गुनासो गर्छन् ।
ढाका खरिद गर्नकै लागि पर्यटक यहाँ आउने गर्छन् । तर अहिले भाइरसको सन्त्रासले विदेशी पर्यटकको चहलपहल हराउन थालेको छ । ढाका उद्योेगबाट उत्पादित विभिन्न सामग्री कोशेलीका रुपमा लैजाने चलन छ । विदेशी पर्यटकले ठूलो परिमाणमा ढाका कपडा खरिद गर्दा व्यापारीलाई राम्रो आम्दानी गर्ने अवसर हुन्छ । विदेशी पर्यटकको आवागमन नै कम हुन थालेपछि ढाका कपडाको व्यापार व्यवसायमा कमी आएको व्यवसायी मनोज पौडेल बताउँछन् ।


‘कोशेलीका रुपमा धेरैजसो ढाका कपडाबाट उत्पादित सामग्री बाह्य पर्यटकले खरिद गर्ने हुँदा व्यवसायी उद्योगीलाई राम्रो आम्दानी आउँछ, कोरोना भाइरसको प्रभावले अहिले व्यापार नै चौपट हुने अवस्थामा छ’, उनले भने । ठूलो लगानीमा उद्योग व्यवसाय सञ्चालन गरेका व्यक्ति व्यापारमा सुस्तता आउँदा मारमा परेका छन् । भाइरसले ढाका उद्योग, होटल व्यवसायसँगै हस्तकलाका उद्योग, विभिन्न साना तथा ठूला व्यवसाय प्रभावित बनेको छ ।
पर्यटकको बाक्लो उपस्थितिले होटल रेस्टुराँ भरिभराउ हुन्थे । विगत एक महिनायता सुनसान जस्तै छ । भाइरसका कारण जिल्लाका ठूलासाना सबैजसो उद्योग, व्यापार व्यवसाय प्रभावित बन्न पुगेको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं होटल व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ जानकारी दिए ।
‘व्यापार व्यवसाय नै कम भएपछि आयस्रोत नै अत्यन्त न्यूनमात्रामा छ, बाह्य पर्यटकले गर्दा ठूला व्यापार व्यवसाय, उद्योगमा सहयोग पुगेको थियो’, उनले भने । व्यापार कम हुँदा मासिक भाडा तिर्न व्यवसायीलाई समस्या भइसकेको उनले बताए । सदरमुकाम तानसेनमा पनि हिजोआज अत्यावश्यक कामकाजका मात्र मानिस पुग्ने गर्छन् ।
घुमघाम गर्न जाने पर्यटकको चहलपहलले बजार गुञ्जायमान हुन्थ्यो । तर अहिले भने अति आवश्यक कामबाहेकका व्यक्ति कोही नभित्रिँदा सदरमुकामको वातावरण सुनसानमय बनेको छ । तानसेनको टुँडीखेल मैदान, श्रीनगरडाँडा, नेपालको ताजमहलका रुपमा रहेको रानीमहल दरबार, भैरवस्थान मन्दिरलगायतका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पर्यटकको चहलपहल कम छ । रासस

प्रतिक्रिया दिनुहोस्