काठमाडौं । बाँदर धपाउन (नियन्त्रण गर्न) भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले पनि निजी जग्गाका रूख काट्न सूचना जारी गरेको छ । वडाध्यक्ष शिव कार्कीले फागुन महिनाभरि रूख काट्न भन्दै सूचना निकालेका छन् ।
गाउँमा बाँदरको आतंक बढेको र बालीनाली खाइदिएपछि मानिसले बस्ती नै छाडेर हिँड्न थालेको वडाध्यक्ष कार्कीको भनाइ छ । मानव जोगाउनकै लागि निजी जग्गाका रूख काट्न भनिएको उनले बताए ।

उनले भने, ‘बस्तीहरू सबै सरेर तल आइसकेको अवस्था छ । बस्ती सरेपछि झन् वन बढ्छ । अर्कातिर निजी वन बढेर जग्गामा आयस्ता पनि हुन छाड्या ।’ वन फडानी गर्ने नभइ काँटछाँट गर्न लागिएको उनले प्रष्ट पारे ।
यसअघि गत माघ १५ गते पोखरा महानगरपालिका वडा नम्बर १९ ले बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो । तर, रूख काटेर बाँदरको समस्या हल नहुने भन्दै आलोचना भएप्छि मेयरले नै रूख नकाट्न निर्देशन दिएका थिए ।















