काठमाडौं, ३० फागुन ।
कोरोना भाइरसविरुद्ध दक्षिण एसियाली राष्ट्रहरु एकजुट भएर लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका छन् । उनले शुक्रबार माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत आफ्ना भनाइ राख्दै कोरोनाविरुद्ध लड्न सार्क सदस्य राष्ट्रलाई आह्वान गरेका हुन्।
‘कोरोना भाइरसविरुद्ध लड्न गतिलो रणनीति निर्माणका लागि म सार्क राष्ट्रहरुसँग प्रस्ताव गर्दछु’, मोदीले शुक्रबार भनेका छन्, ’हामी हाम्रा नागरिकको सुरक्षाका लागि उपाय खोज्न सार्क सदस्य राष्ट्रका प्रमुखबीच भिडियो कन्फ्रेन्स गर्न सक्छौं।’ मोदीले कोरोना भाइरसविरुद्ध एकसाथ लडेर सार्क राष्ट्रले अरु विश्वलाई उदाहरण दिन सक्नुपर्ने मत राखेका छन्। धर्तीलाई स्वस्थ राखिराख्ने अभियानमा सार्क राष्ट्रले उदाहरणीय काम गर्न सक्नेमा उनको जोड छ। ’हाम्रो धर्ती अहिले नोभल कोरोना भाइरसविरुद्ध संघर्ष गरिरहेको छ’, मोदीले अगाडि भनेका छन्, ’सरकारदेखि जनताको तहसम्म धेरै तरिकाले हामी कोरोना भाइरविरुद्ध मोर्चाबन्दी गर्न जुट्नुपर्छ।’
विश्व जनसंख्याको महत्वपूर्ण हिस्सा दक्षिण एसियामा रहेको बताउँदै मोदीले यहाँका जनतालाई स्वस्थ राखिराख्न सार्क सदस्य राष्ट्रहरुले कुनै पनि कसर बाँकी राख्न नहुनेमा पनि जिकिर गरेका छन्। ओझेलमा सार्क भारतकै कारण अहिले सार्क ओझेलमा छ। तर, संकटको बेला मोदीले सार्कलाई सम्झिएका छन् ।











