काठमाडौं । बिहीबारदेखि घरेलु मैदानमा नेपालले क्यानाडासँग तीन खेलको एक दिवसीय सिरिजमा प्रतिस्पर्धा गरिरहेको छ ।
सिरिजको पहिलो खेल चलिरहँदा बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भइसकेका सन्दीप लामिछानेको खोजी गर्दै नाराबाजी भएको छ ।

खेल हेर्न पुगेका समर्थकहरूले अदालतबाट दोषी ठहर भएर राष्ट्रिय टोलीबाट निलम्बनमा परिसकेका सन्दीपको पक्षमा नाराबाजी गरेका हुन् । उनीहरूले ‘वि वान्ट सन्दीप’ र ‘जस्टिस फर सन्दीप’जस्ता नारा क्रिकेट चलिरहेका बेला लगाए ।
अदालतबाट दोषी ठहर भएर नेपाल क्रिकेट संघ (क्यान)को निलम्बनमासमेत परिसकेका सन्दीपको पक्षमा नाराबाजी भएपछि क्रिकेट मैदानमा तैनाथ प्रहरीलाई अवस्था सम्हाल्न मुस्किल पर्यो ।
आईसीसीको मान्यताप्राप्त खेलमा अचानक अदालतबाट दोषी ठहर व्यक्तिको पक्षमा नाराबाजी भएपछि प्रहरीले तत्कालै अवस्थालाई नियन्त्रणमा लिने कोसिस गरेको थियो ।
नाराबाजीमा उत्रिएकाहरूलाई प्रहरीले तत्कालै तितरबितर बनायो । नाराबाजीमा उत्रिएकामध्ये दुईजनालाई प्रहरीले क्रिकेट स्टेडियम क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।
क्रिकेट हेर्न पुगेकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अभद्र गालीसहित नारबाजी गरे । उनीहरूले प्रधानमन्त्रीलाई चोरको संज्ञा दिँदै गालीसहितको नाराबाजी गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।














