रौतहट । रौतहटको मौलापुर नगरपालिका वडा नं. ९ मा फर्जी विवाहका लागि नगरपालिकाबाट आर्थिक सहयोग लिने प्रयास असफल भएको छ । मौलापुर नगरपालिकाले विवाह गर्ने उमेर पुगेका छोरीका परिवारलाई पालिकाबाट ३० हजार आर्थिक सहयोग गर्दै आएको छ ।
मौलापुरकी मेयर रिनाकुमारी साहको पहलमा असहायके साथ मेयर कार्यक्रम विगत लामो समयदेखि कार्यान्वयन हुँदै आएको छ । यस योजनाबाट सयौँ परिवारले लाभ लिइसकेको छ ।

वडाको सिफारिसमा पालिकाले निर्णय गरेर सो आर्थिक सहयोग गर्दै आएको छ । सोही क्रममा मौलापुर नगरपालिका–९ का वडा अध्यक्ष श्यामकिशोर साहले सोही ठाउँ निवास महिन्द्रराय यादवको छोरी सन्जु कुमारीको विवाह हुँदै गरेकाले पालिकाको निर्णय अनुसार सो अनुदान सहयोग उपलब्ध गराई दिन सिफारिस गरेका थिए ।
वडा अध्यक्ष साहले गत पुस १८ गतेको मितिमा सो सिफारिस पालिकामा गरेका थिए । माघ २५ गते यादवको छोरी सन्जुको विवाह रौतहट जिल्लाको वृन्दावन नगरपालिका बौहरी निवासी ब्रह्मदेव राय यादवको छोरासँग विवाह भइरहेकाले पालिकाबाट दिइँदै आएको ३० हजार आर्थिक सहयोग उपलब्ध गराई दिनका लागि वडा अध्यक्ष साहले सिफारिस गरेका थिए ।
वडा अध्यक्ष साहको सिफारिसका आधारमा पालिकाको निर्णयबाट सो रकम दिने भनेर निर्णय पनि भयो । लेखापालले ३० हजार बराबरको चेक पनि सन्जुका बुबा महिन्द्रको नाममा काटियो ।
तर जब सो चेक लिएर मेयर रिना साह महिन्द्रको घरमा पेगेका थिए । महिन्द्रको घरमा कुनै विवाह नै थिएन । वडा अध्यक्षले फर्जी सिफारिस गरी सो रकम आफै लिएर खान खोजेको देखियो । अनि मेयर साहले सो चेक लिएर पालिका फर्किए ।
वडाध्यक्षले फर्जी विवाहको सिफारिस गरी नगरपालिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग खान खोजेपछि स्थानीयले विरोध गरेका छन् । उनीहरूले वडा अध्यक्ष साहलाई कारबाहीको माग समेत गरेका छन् ।
सर्वसाधारण, गरिब परिवारलाई नगरपालिकाले गर्दै आएको सहयोग रकम हिनामिना गर्न फर्जी सिफारिस गर्ने वडाध्यक्षलाई कडा कारबाही हुनुपर्ने माग स्थानीयले गरेका हुन् ।














