
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलम लगायत ११ जनाविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । ४ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि आज रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको हो ।
रौतहट जिल्ला अदालतमा रहेको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरको मुद्दामा आजबाट अन्तिम सुनुवाइ हुने भएको हो ।
मुद्दा दर्ता भएको करिब ४ वर्ष अदालती प्रक्रियामै रोकिएको उक्त मुद्दामा गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि मङ्सिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन ।
सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले गत पुस २९ गते आइतबारका लागि उक्त मुद्दाको पेसी तोकेको थियो । तर उक्त दिन न्यायाधीश अभावका कारण गोला नतानिएपछि स्थगितको सूचीमा राखिएको थियो ।
२०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुर’मा कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमसहित उनी निकटका ११ जनालाई प्रतिवादी बनाइएको थियो ।














