विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की फस्ट बेन्च’ र ‘लास्ट बेन्च’ अभिव्यक्तिले विवादित बनेका छन् ।
मुख्यमन्त्री कार्कीले क्षमायाचना नगरे आन्दोलन गर्ने कर्मचारी संगठनले बताएका छन् । कार्कीले राष्ट्रसेवक कर्मचारीको आत्मसम्मानमा चोट पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चारवटा संगठनले कार्कीले क्षमायाचना नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
गत सोमबार मोरङको सुन्दरहरैचास्थित साँजीलाल माध्यामिक विद्यालयको ५८औँ वार्षिक उत्सवमा बोल्दै कार्कीले आफू विद्यार्थीकालमा कक्षामा सधैं ‘लाष्ट बेञ्च’मा बस्ने र फष्ट बेञ्चमा बस्नेको बखान गरेका थिए ।

सो क्रममा कार्कीले आफ्नो विद्यार्थीकालमा फष्ट बेञ्चर खरिदार भएर भुँडीमात्र भर्न ठिक्क भएको र आफू लाष्ट बेञ्चर भएर पनि मुख्यमन्त्री बन्न सफल भएको अभिव्याक्ति दिएका थिए । उक्त अभिव्यक्ति सच्याउन कर्मचारी संघ र संगठनले कार्कीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा कार्कीले भनेका थिए, ‘म कक्षामा बस्ने लाष्ट बेन्चर हुँ, फष्ट बेन्चमा बस्नेले केवल लेख्न र पढनमात्र जान्यो । कसरी लोकसेवा पास गर्ने र भुँडी भर्ने मात्र जान्यो, उ अहिले खरिदार छ, म मुख्यमन्त्री छु ।’ कार्कीको उक्त भनाइ अहिले सामाजिक सञ्जालमा छाएको छ ।
कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कोशीका अध्यक्ष मानबहादुर बन, एमाले निकट निजामती कर्मचारी संगठन कोशीका अध्यक्ष काशीराज पराजुली, माओवादी केन्द्र निकट कर्मचारी संगठन कोशीका अध्यक्ष रुद्र सुवेदी र नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठन कोशीका कार्यवाहक अध्यक्ष योगेश्वर खनालले संयुक्तरुपमा विज्ञप्ति जारी गरी मुख्यमन्त्री कार्कीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, अपरिपक्व र आपत्तिजनक भएको भन्दै क्षमायाचनाको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सबैभन्दा ठूलो लोकतान्त्रिक दलबाट प्रदेशसभामा अत्यधिक मतसहित निर्वाचित भएर मुख्यमन्त्री बनेका कार्कीले कर्मचारीका सम्बन्धमा दिएको गैरजिम्मेवारी र आपत्तिजनक अभिव्यक्तिले समग्र राष्ट्रसेवक कर्मचारीहरूको मानमर्दन भएकोमा हामी आपत्ति व्यक्त गर्छौं ।’














