काठमाडौं । एथलेटिक्सका दीपक अधिकारी वर्षको उत्कृष्ट पुरुष खेलाडी बनेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनले आसिफ शेख (क्रिकेट) र रोहितकुमार पौडेल (क्रिकेट)लाई पछि पार्दै उपाधि हात पारेका हुन् । विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ ।

एथलेटिक्सका दीपक अधिकारी एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण तथा घरेलु प्रतियोगितामा तीन स्वर्ण र एक रजत पदक विजेता खेलाडी हुन् । उनले १६औं एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमिमा स्वर्ण र सोही प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेका थिए ।
उनले नवौं राष्ट्रिय खेलकुदमा पुरुष १० किमिमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । उनले दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण पदक जितेका थिए । उनले कान्तिपुर हाफ म्याराथनमा रजत पदक पनि हात पारेका थिए ।
यस्तै क्रिकेटका आसिफ शेख २०७९ सालमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल एक हजार ९३ रन बनाउन सफल खेलाडी हुन् । उनले विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध एक सय १० रन बनाएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सातवटा अर्धशतक बनाउन सफल खेलाडी पनि हुन् ।














