Logo
Logo

एसिया कपमा पुग्न आज मलेसियासँग भिड्दै नेपाल


1k
Shares

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा आज नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ ः १५ मा बायोमास ओभलमा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । त्यस्तै अर्को सेमिफाइनलमा थाइल्यान्ड र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक लिएकी थिइन् । नेपालको चारमध्ये तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।

उता माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको ऐतिहासिक शतक हानेकी थिइन् । सीता र रुविना नेपालका प्रमुख हतियार हुन् । कप्तान इन्दु बर्मा, डली भट्ट, कविता जोशी र अप्सरी बेगमले ब्याटिङमा अतिरिक्त जिम्मेवारी लिनुपर्ने हुन्छ । बलिङमा कविता कुँवर र अश्मिना कर्माचार्यको जोडीले सुरुआत विकेट दिलाउन आवश्यक पर्दछ ।

यस प्रतियोगितामा नेपाल अपराजित छ । नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेत तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्