
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिणमा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरुपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताएका छन् ।
नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षा, जीवन शैली र शान्ति स्थापनाजस्ता विषयमा दक्षिणको मौलिक बौद्धिक सम्पदाले विश्वलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् ।
दक्षिणमा रहेका ज्ञानका स्रोतहरु विश्वव्यापी व्यवस्थामा योगदान पुर्याउनका लागि बैठक एवं सम्मेलन प्रस्थानविन्दु हुने भन्दै उनले विश्वव्यापी दक्षिणका लागि उच्च शिक्षा घोषणापत्र तयार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
‘हामीले आर्थिक मापदण्डका आधारमा दक्षिण र उत्तरबीच विभाजनलाई टाढा राख्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बरु, साझा आधारहरू खोजेर दक्षिण र उत्तरलाई जोड्ने तरिकाहरू खोज्नुुपर्छ ।’ उनले उत्तर–दक्षिण जोड्ने घोषणापत्र लेख्न नेपालबाट काठमाडौं विश्वविद्यालयले अगुवाई गरिरहेको भन्दै यस्ता बौद्धिक कार्यले विश्वलाई नै सहयोग पुग्ने बताए ।
आफ्नो ३२ वर्षको इतिहासमा, काठमाडौं विश्वविद्यालयले अन्तर्राष्ट्रियकरण र शैक्षिक कार्यक्रमहरूको विस्तारमा सराहनीय प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पाँच हजारभन्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्नातक गराएकोप्रति खुशी व्यक्त गरे ।
विश्वविद्यालयको यसखाले पहलहरूले नेपालको शैक्षिक प्रस्तावहरूलाई मात्र नभएर अन्तर–सांस्कृतिक बुझाइ र सहकार्यलाई पनि बढावा दिएको उनले उल्लेख गरे ।














