
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रथम विधान सम्मेलनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान मस्यौंदामाथि बाँकी रहेका ७ समूहहरुबाट सुझाव सङ्कलन गर्न थालिएको हो । मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।
हिजो बुधबार १३ समूहबाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको छ । सुझाव पेस गर्ने क्रममा महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने, शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने, पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने विषयहरु उठान भएका छन् ।
आज बाँकी सात समूहले सुझाव प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्षले जवाफ दिनेछन् । तीन दिनसम्म चल्ने सम्मेलनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।














