मोरङ । मोरङको केराबारीमा आमा–छोरीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार बिहान खुकुरी प्रहारबाट केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राई घाइते भएका छन् ।
खुकुरी प्रहारबाट दुवैजनाको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुलाई विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको छ ।
आमा–छोरीमाथि लेटाङ नगरपालिका–१ का अन्दाजी ५२ वर्षीय नीरकुमार राईले बिहान ९ः३० बजेतिर खुकुरी प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । उनका अनुसार खुकुरी हान्ने नीरकुमार जमुनादेवीका भान्जा हुन् । नीरकुमारकी श्रीमतीले दोस्रो बिहे गरेको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनले सुरुमा पेस्तोल ताकेका थिए । तर, पेस्तोल भने प्रहार नगरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सुरुमा उनले माइजू जमुनादेवीलाई खुकुरीले हानेका थिए । खुकुरी प्रहार हुन थालेपछि जमुनादेवीका परिवारले प्रतिकार गरेका थिए । प्रतिकारबाट नीरकुमारसमेत घाइते भएको प्रहरीले जनाएको छ ।
अनुहारमा चोट लागेका उनलाई हतियारसहित नियन्त्रणमा लिएर प्रहरीले उपचारका लागि नगर अस्पताल बेलबारीमा भर्ना गरेको छ । प्रहरी नियन्त्रणमा उपचार गराइरहेका उनी बोल्न नसक्ने अवस्थामा छन् । आरोपीको साथबाट एउटा सक्कली र अर्को नक्कली पेस्तोलसमेत फेला परेको प्रहरीले जनाएको छ ।
एसपी पोखरेलका अनुसार नीरकुमारको साथबाट अटोमेटिक पेस्तोल र म्याग्जिनसहित ४ राउण्ड गोली बरामद भएको छ । ‘मेड इन चाइना’ लेखेको नक्कली पेस्तोलसमेत फेला परेको उनले बताए । सक्कली र नक्कली पेस्तोल तथा खुकुरीसहित नीरकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।














