Logo
Logo

भावी गभर्नरका लागि दौडधुप सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल यो साता सकिँदैछ । नयाँ गभर्नरमा नियुक्तिको लागि पछिल्लो केहि समयदेखि विभिन्न व्यक्तिले शक्ति केन्द्रमा धाउने अभियान नै चलाएका छन् । कोहीले आफू निकटका व्यापारिक घरानालाई राजनीतिक नेतृत्वसामू अघि सारेका छन् । प्रधानमन्त्री के.पी.शर्मा ओली मिर्गौला प्रत्यारोपण र सो पश्चात्को अनिवार्य आरामको अवस्थामा रहेकाले पछिल्लो दुई सातादेखि मन्त्रीपरिषद्को बैठक बस्न सकेको छैन । गभर्नर नियुक्तिको लागि अर्थमन्त्रीको संयोजकत्वमा सिफारिश समितिसमेत बनेको छैन ।

डा. गोबिन्दबहादुर थापा

केन्द्रीय बैंकका विज्ञ थापा एमालेको नौ महिने शासनकालका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार हुन् । उनी पूर्वएमालेमा सबैभन्दा धेरै समय खटेका अर्थशास्त्री पनि हुन् । एमालेको तत्कालीन अल्पमतको सरकारले अघि सारेको ‘आफ्नो गाउँ आफैं बनाऔं’ र वृद्धभत्ताको परिकल्पनाकार टोलीका एकजना सदस्य रहेका थापा व्यवहारिक अर्थशास्त्रीको रूपमा परिचित छन् ।

भावी गभर्नरको प्रमुख दाबेदारको रूपमा अर्थशास्त्री डा. गोबिन्दबहादुर थापाले गतसाता मात्र आफूलाई अगाडि सारेका छन् । बैंकका पूर्व कार्यकारी निर्देशक तथा सरकारी वित्त र केन्द्रीय बैंकका विज्ञ थापा एमालेको नौ महिने शासनकालका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार हुन् । उनी पूर्वएमालेमा सबैभन्दा धेरै समय खटेका अर्थशास्त्री पनि हुन् । एमालेको तत्कालीन अल्पमतको सरकारले अघि सारेको ‘आफ्नो गाउँ आफैं बनाऔं’ र वृद्धभत्ताको परिकल्पनाकार टोलीका एकजना सदस्य रहेका थापा व्यवहारिक अर्थशास्त्रीको रूपमा परिचित छन् । विगतमा गभर्नर तिलक रावलले वामपन्थी भएकै कारण बैंकमा थापाको वृत्ति विकासलगायतका काममा भाँजो हालेका थिए । तर, अर्थमन्त्री युवराज खतिवडालाई कनिष्ठ हुँदाहुँदै पनि गभर्नर रावलले आफ्नो मान्छे भन्दै कार्यकारी निर्देशकमा बढुवा गरिदिएका थिए । गभर्नर नियुक्तिको प्रसंगमा थापाले काँग्रेसी गभर्नर र सरकारविरुद्ध निडर ढङ्गले जुधेकाले यतिखेर पार्टीले आफ्नो उच्च मूल्याङ्कन गर्ने बेला आएको बताएका छन् ।

यसबीचमा नयाँ गभर्नरको लागि विभिन्न व्यक्तिको समेत चर्चा भएको छ । काँग्रेसी हुँदाहुँदै पनि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेका पूर्व राजश्व सचिव लालशंकर घिमिरे, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, योजना आयोगका पूर्व उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, मुख्यसचिव लोकदर्शन रेग्मी, पूर्व अर्थसचिव राजन खनाल र बैंकका सञ्चालक सुबोधकुमार कर्णको नाम विभिन्न कोणबाट चर्चामा ल्याइएको छ । यसमध्ये घिमिरे, रेग्मी र खनाललाई गभर्नर बनाउँदा राम्रो हुने चर्चा स्वयं अर्थमन्त्री निकटका व्यक्ति र समूहले चलाएकोे अड्कल लगाइएको छ ।

अर्कोतर्फ, कानुनतः गभर्नर नियुक्तीको लागि गरिने तीनजनाको नाम सिफारिशमा बैंकका दुईजना डेपुटी गभर्नरमध्ये कम्तीमा एकजना पर्नैपर्ने बाध्यकारी व्यवस्था छ । यस्तो अवस्थामा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठमध्ये एक अगाडि देखिनेछन् । तर, अर्थमन्त्रीको हालैको योजनाबद्ध कोपभाजनबाट बालबाल जोगिएका अर्का डेपुटी श्रेष्ठलाई अर्थमन्त्री खतिवडाले सिफारिशमा पर्न नदिने कुरामा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्