Logo
Logo

इतिहासमै पहिलोपटक अख्तियार पूर्वप्रमुख भ्रष्टाचारी ठहर


5.1k
Shares

काठमाडौं । नेपाली इतिहासमा पहिलोपटक भ्रष्टाचारको अनुसन्धान र अभियोजन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वप्रमुख भ्रष्टाचारी ठहरिएका छन् ।

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको मुद्दामा पूर्वप्रमुख आयुक्त दीप बस्न्यात दोषी ठहरिएका हुन्
विशेष अदालतले बस्न्यातलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख ४८ हजार जरिवानाको सजाय तोकेको छ । अख्तियारकै पूर्वप्रमुख भ्रष्टाचारमा दोषी ठहर भएको यो पहिलो घटना हो ।

यसअघि अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक घुसकाण्डमा दोषी ठहरिएका थिए । बस्न्यात ०६६ मा भौतिक मन्त्रालयको सचिव रहँदा ललितानिवास क्याम्पको जग्गा हिनामिनासम्बन्धी निर्णयमा संलग्न थिए । बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा त्यतिवेला ललितानिवास क्याम्पको १९ रोपनी १५ आना एक पैसा एक दाम जग्गा हिनामिना भएको थियो ।

‘मोहीको नाममा जग्गा सट्टाभर्ना गर्ने प्रक्रियामा बदनियतपूर्ण अपारदर्शी तवरले भूमिसम्बन्धी ऐन, २०२१ तथा जग्गा प्राप्ति ऐन, २०३४ का आज्ञात्मक प्रबन्धहरू छली कानुनको सर्वाेच्चताविपरीत मन्त्रिपरिषद्बाट निर्णय गराई प्रचलित कानुनमा तोकिएका ओहोदाको दुरुपयोग गरेको’ फैसलामा उल्लेख छ ।

सोही आधारमा बस्न्यातसहित पूर्वसचिव पन्त, कर्मचारीहरू प्रेमबहादुर खापुङ, अर्जुन खतिवडा, शंकरप्रसाद सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमल्सिना, परशुराम पोख्रेल, कृष्णप्रसाद पौडेल, प्रकाश भट्ट र टंक पौडेललाई दोषी ठहर गरिएको छ ।

जसमा जनही दुई वर्ष कैद र ८० लाख ४८ हजार जरिवानाको फैसला भएको छ । उनीहरूविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँबराबरको बिगो कायम गरिएकोमा दामासाहीका हिसाबले १२ जनाबाट जरिवाना असुल गर्ने फैसला भएको हो ।

प्रतिक्रिया दिनुहोस्