काठमाडौं । गत बुधबार (फागुन २) काठमाडौंको एतिहासिक स्थान हाँडीगाउँमा चिनियाँ नववर्ष ड्रागन लुनार–२०२४ मनाइयो । पुरातत्वविद्हरू हाँडिगाउँ, नेपाल–चीन सम्बन्ध जोड्ने सेतुको रूपमा एतिहासिक प्रमाणले स्थापित भएको कुरा बताउँछन् ।
मानदेवको पालामा रहेको वास्तुकलाको अनुपम भवन ‘कैलाशकुट भवन’को चर्चा प्रसिद्ध चिनियाँ तिर्थयात्री ह्वेन साङ्गले आफ्नो यात्रा वृत्तान्तमा उल्लेख गरेको कुरा बताइन्छ । कैलाशकुट भवन यसै हाँडीगाउँ क्षेत्रमा रहेको कुरा पुरातत्वविद्हरूको दाबी छ ।

चिनियाँहरू आफ्नो नयाँ वर्षलाई सबैभन्दा पुरानो मान्दछन् भने लाखौं परिवारलाई एकताबद्ध गर्ने र पुरानोलाई त्यागेर नयाँ अँगाल्ने उत्सवको रूपमा मनाउँदछन् ।
कार्यक्रममा चिनियाँ राजदुत छेन सोङ्गले यो कार्यक्रम नेपाल र चिनियाँ जनताबिच रहेको सम्बन्ध सुदृढ गर्न आयोजना गरिएको बताए । सोङ्गले भने, ‘आगामी वर्ष नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुग्दैछ । त्यस अवसरमा नेपाल र चीनका जनताबीच रहिआएको कसिलो सम्बन्धलाई झन् घनिभुत पार्न विशेष कार्यक्रमहरूको आयोजना गरिनेछ ।’
कार्यक्रममा युनान विश्व विद्यालयका स्नातक तहका विद्यार्र्थीहरुले आकर्षक ड्रागन र ड्रम नृत्य प्रस्तुत गर्नाका साथै यसको परेडपनि गरेका थिए । उक्त कार्यक्रम काठमाडौंस्थित चिनियाँ दुतावास, चीन समुद्रपार संगठन, नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा भएको थियो ।
कार्यक्रमको खल्लो पक्ष भनेको चिनियाँ टोली पर्याप्त तयारीका साथ आएको थियो भने स्थानीय आयोजक पर्यटन बोर्ड र काठमाडौं महानगरको फितलो तयारीले केही खल्लोपन महसुस भएको थियो ।
चिनियाँ पक्षले कार्यक्रममा पर्याप्त सुरक्षा व्यवस्था नभएकोमा स्थानीय र प्रहरीसमक्ष असन्तुष्टि प्रकट गरेको थियो । यसका साथै चिनियाँ राजदुतलाई प्लाष्टिकको मेचमा राखिएको थियो । र, चिनियाँहरू आफ्नो राजदुत बसाल्न पकेटको रूमाल झिकेर मेच पुछिरहेका देखिन्थे । चिनियाँहरूले नववर्षको कार्यक्रमको प्रस्तुति दिँदै गर्दा गहना पोखरीमा युएसएड लेखेका स्टलहरू पनि देखिएका थिए ।














