
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले कानुन व्यवसायीहरूको क्षेत्र सबै तहतप्का र वर्गमा पर्ने भएकाले न्यायिक सर्वोच्चता भाषा र बाङ्मयभित्र पनि रहने बताएका छन् । रामशाहपथस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा भएको ‘भाषा संरक्षणमा कानुन व्यवसायीहरूको भूमिका र दायित्व’ विषयक अन्तरविमर्श कार्यक्रममा राईले यस्तो बताएका हुन् ।
‘कानुन व्यवसाय बहुलभाषासँग सम्बन्धित भएकाले कानुन व्यवसायीले सबै भाषाको ज्ञान राख्नुपर्ने देखिन्छ’, उनले भने, ‘एकअर्को भाषामा प्रयोग हुने शब्दको उच्चारणमा प्रष्ट हुन नसके त्यसले न्यायिक फैसलामा त्रुटि हुन सक्छ ।’ ‘अधिकांश जनजातिको भाषामा ‘अ’ अक्षर छैनः– जस्तै तामाङले ‘मरेँ’ शब्दलाई ‘मारेँ’ भन्छन्’ उनले थपे, ‘कुनै पनि समुदायले गर्ने उच्चारणप्रति कानुन व्यवसायीहरूको ध्यान पुग्यो भने मात्रै फैसलामा त्रुटि नरहने र पीडितले न्याय पाउँछन् ।
उनले भने, ‘परिस्थितिवश अर्थध्वंस भए केही महिना बाँचिएला, राजनीतिक भ्याकुममा पनि बाँच्न सकिएला तर भाषाविना बाँच्नै सकिँदैन ।’ कुलपति राईले साबुनले शरीरको मैलो धोएजस्तै साहित्यले मगजको मैलो धोइदिने बताए । उनले साहित्यले असल संस्कृति सिकाउँने भन्दै कानुन व्यवसायीहरूले पनि कथा, कविता, निबन्ध र उपन्यास पढ्न उत्तम हुने बताए ।
उनले अपवादबाहेक साहित्यकारहरू भ्रष्टाचारी नभएको ठोकुवा गरे । कुलपति राईले भाषा र शब्द पनि मानिस जस्तै भएको तर्क गर्दै भाषाको जैविकता बुझेर ‘प्रज्ञा नेपाली बृहत शब्दकोष’मा युगानुकूल अर्थ खोज्दै परिमार्जन गर्नेमा जोड दिए ।
माननीय पूर्व न्यायाधीश कमलनारायण दासले ‘कायस्थ’जातिलाई होच्च्याउने गरी नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘प्रज्ञा नेपाली बृहत शब्दकोष’मा अर्थ उल्लेख भएकाले सच्च्याउन माग गरे । उनले सबै मिलेर नेपालीभाषा र नेपालका मातृभाषालाई बचाउन अग्रसर हुनुपर्ने बताए ।
प्रा.डा. भागवत ढकालले भाषाको प्रयोगमा ‘इन्तु र परन्तु’ मात्रै फरक पर्यो भने पनि धेरै अर्थ फरक पर्ने बताए । उनले नेपाली भाषाको महत्वलाई ध्यान दिँदै विभिन्न आयातित शब्दहरूलाई समेत सम्मान गर्नुपर्नेमा जोड दिए ।
प्रा.डा.तथा वरिष्ठ अधिवक्ता नृसिंहकुमार खत्रीले ‘भाषाको संरक्षणमा काव्यको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले न्यायालयमा भाषाको प्रवेश र चलनको ऐतिहासिकता, भाषा जाग्ने–मौलाउने फैलिने पद्धति, न्यायालयमा न्यायदिने विषय र विधा लगायतका सन्दर्भमालाई कार्यपत्रमा उल्लेख गरेका थिए ।
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले जगबाटै भाषा बिगारिनु नियतवश गरिएको गल्ती भएको औँल्याए । उनले मातृभाषा बचाउन आफ्ना सन्तानलाई स्वयम् बाउआमाले सिकाउनुपर्ने बताए ।
कार्यक्रम समापनका क्रममा वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले भाषा सबैको साझा सम्पति भएको बताए । उनले भाषाको संरक्षणमा कानुन व्यवसायी र न्यायलय प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे ।
स्वागत मनतव्यको क्रममा अधिवक्ता शेरबहादुर कार्कीले भाषामा आएको विचलनप्रति चिन्ता व्यक्त गरे । कार्यक्रम संचालनको क्रममा सर्वोच्च अदालत बार एसोसिएसन भाषा, साहित्य, कला, संस्कृति समितिका सदस्य सचिव रामेश्वर राउत मातृदासले भाषा सार्वभौम सत्ता सम्पन्न राष्ट्र र आमनागरिकहरूको शक्ति र तागत भएको बताए ।
कार्यक्रम सर्वोच्च अदालत बार एसोसिएसन भाषा साहित्य, कला संस्कृति समिति र नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठान तथा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान नेपालकाे संयुक्त आयोजनामा गरिएको थियोे ।














