Logo
Logo

ओखलढुंगाका श्रेष्ठलाई दुबईमा मृत्युदण्डको सजाय



काठमाडौं । विगत ५ वर्षदेखि संयुक्त अरब इमिरेट्स (युएई)को जेलमा बसिरहेका एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका ओखलढुङ्गाका भुवन श्रेष्ठलाई दुबईको एक अदालतले केहि दिनअघि मृत्युदण्डको फैसला सुनाएको हो ।

आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आलेमगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो ।

उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनै श्रेष्ठले अस्पताल लैजाँदै गर्दा बाटैमा साथीको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको दाइ दिनेशकुमार श्रेष्ठले बताए ।

भाइ जेल परेको ५ वर्ष भइसकेको र अहिले मृत्युदण्ड कुरिरहेको दिनेशकुमारले बताए । अहिले पीडित परिवारले ५० लाख रुपैयाँ ब्लडमनीबापत मागिरहेको उनले सुनाए ।

भाइको जीवन रक्षाका लागि पहल गरिदिन आग्रह गरेको भए पनि सरकारका तर्फबाट अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले बताए । मृतकका मामाका अनुसार त्यतिबेला परिवारले १ लाख ५० हजार दिराम अर्थात् करिब ४९ लाख नेपाली रुपैयाँ ब्लडमनी मागेको थिए । त्यो दिए मृत्युदण्डको सजायबाट माफी पाएर नेपाल फर्कन पाउने बताए ।

मृतकका परिवारले मागेको ब्लडमनीबापतको पैसा नबुझाए अबको केही महिनामै मृत्युदण्डको सजाय कार्यान्वयन हुनेछ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्