काठमाडौं । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन लुम्बिनी–सिंहदरबार पैदलयात्रा गरेका सामाजिक अभियन्ता ईःसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । पैदलयात्राको १० औं दिन ईः सहितको टोलीले आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेर ज्ञापन पत्र बुझाएको हो ।

आज कलंकीदेखि सिंदरबारसम्म पैदलयात्रा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर ज्ञापन पत्र तय थियो । तर, प्रजातन्त्र दिवसको बिदा परेकाले उनीहरुलाई बालुवाटार बोलाइएको थियो ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ईःले पाँच पृष्ठको मागपत्र सुनाएका थिए । त्यसमा सडक व्यापारको वस्तुगत अवस्था, तहगत सरकारको संवैधानिक, कानुनी र नीतिगत वाचा, सरकारले लिनुपर्ने ठोस पहलबारे आफूहरुको माग, तत्कालीन, दिगो समाधानका विषय लगायत उल्लेख गरिएको थियो । मागपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मागप्रति सकारात्मक रहेको बताएका थिए ।
अभियन्ता ईः ले २८ माघमा लुम्बिनीबाट पैदलयात्रा थालेका थिए । यसअघि उनले सडक व्यवसायीबारे चुनाव अघि गरेको वाचा पूरा गरिदिन भन्दै काठमाडौं र ललितपुर महानगर अगाडि पनि उभिएर विरोध प्रदर्शन गरेका थिए ।














