Logo
Logo

आह्वान भयो ६० हजार मेट्रिक टन युरिया मलको ठेक्का


441
Shares

काठमाडौं । गत वर्षदेखि रासायनिक मलमा धेरै ठूलो अभाव भएको छैन । खेती लगाउने सिजनमा त्यसअघि रासायनिक मलको अभाव हुँदै आएको थियो ।

गत वर्षदेखि सरकारले केही मात्रामा भने पनि यस समस्याको हल गरिरहेको छ । यो वर्ष पनि खेती लगाउने सिजनमा मल अभाव हुन नदिन सरकारले अहिले नै ठेक्का आह्वान गरिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्षदेखि नै ताकेता गरेर रासायनिक मलको लागि बजेट अभाव हुन नदिन निर्देशन दिँदै आएका छन् । जसअनुसार अर्थ मन्त्रालयले कृषि विकास तथा पशुपक्षी मन्त्रालयमा निकासा समेत दिइरहेको छ ।

चालू आर्थिक वर्षको लागि ३० अर्ब रुपैयाँ विनियोजन भएकोमा १५ अर्ब रुपैयाँ खर्चको लागि सहमति प्रदान गरिसकेको छ ।
अर्थ मन्त्रालयका अनुसार यो वर्षको लागि पुस मसान्तसम्मै आधा रकम सहमति प्रदान भइसकेको छ ।

यता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले फागुन ३ गते ३० हजार मेट्रिक टन मल ल्याउन बोलपत्र आह्वान गरिसकेको छ । कर्पोरेसनले युरिया मल खरिदका लागि बोलपत्रदाताहरुलाई आह्वान गरेको हो ।

३ गते प्रकाशित विज्ञापनअनुसार आगामी मार्च ६ सम्म कागजात खरिद गरी बुझाउन सकिनेछ । प्राविधिक बोलपत्रका कागजात सोही दिन खोलिनेछ भने त्यसको तीन दिनपछि प्राविधिक रुपमा योग्य बोलपत्रदाताको विवरण सार्वजनिक गरिनेछ । आर्थिक बोलपत्र पेस गर्ने मिति आगामी मार्च १५ तारिखलाई तोकिएको छ । कर्पोरेसनका अनुसार सोही दिन आर्थिक बोलपत्र खोलिनेछ ।

मल खरिदमा इच्छुक खरिदकर्ताले दुईवटा बोलपत्र पेस गर्नुपर्नेछ । आफूले खरिद गरी ल्याउन चाहेको रकम बाहिर खुलाएको पाइए त्यो बोलपत्र स्वतः रद्द हुने कर्पोरेसनले जनाएको छ । खरिदकर्ताले उक्त रकम अमेरिकी डलरमा उल्लेख गर्नुपर्नेछ ।

त्यस्तै कृषि सामग्री कम्पनीले पनि सोमबार ३० हजार मेट्रिक टन युरिया मलको लागि नै ग्लोबल बोलपत्र आह्वान गरेको हो । प्रकाशित विज्ञापनअनुसार आगामी मार्च १९ सम्म कागजात खरिद गरी बुझाउन सकिनेछ । प्राविधिक बोलपत्रका कागजात सोही दिन खोलिनेछ भने आर्थिक बोलपत्र पेस गर्ने मिति आगामी अप्रित ५ सम्मको लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्