Logo
Logo

बढ्दै मानवअधिकार उल्लंघनका घटना


441
Shares

काठमाडौँ । सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३८८ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको छ।

सोमवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ सार्वजनिक गर्दै सन् २०२३ मा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको हो ।

सन् २०२३ (२०७९ पुस १७ देखि २०८० पुष १५ गतेसम्म) मानवअधिकार उल्लङ्घनका घटनामा १ सय ४६ जना महिला र ८ सय ४२ पुरुष गरी जम्मा ९ सय ८८ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी ज्यादतीका घटनामा ७ हजार ७१६ महिला र ६ सय ८२ जना पुरुष पीडित भएको तथ्यांक छ । इन्सेकले सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३७६ जना पीडित भएको उल्लेख गर्दै सन् २०२३ मा यो संख्या सन् २०२२ भन्दा २ हजार १२ जना बढी भएको जनाएको छ ।

सन् २०२३ मा राज्य पक्षबाट ६ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी यातनाको घटनामा २ जना, गिरफ्तारीको घटनामा २४० जना, जातीय विभेदका घटनामा ६२ जना, कुटपिटका घटनामा ४१४ जना, अमानवीय व्यवहारका घटनामा ३१ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ५०५ जना पीडित भएको इन्सेकले अभिलेख राखेको छ ।

इन्सेकको अभिलेख अनुसार प्रहरी हिरासतमा २ जना र कारागारमा ५१ जनाको मृत्यु भएको छ । संखुवासभा कारागारमा प्रहरीको यातना तथा कुटपिटबाट २ जना बन्दीको मृत्यु भएको पनि उल्लेख गरिएको छ । त्यसैगरी राज्य पक्षबाट एक जना बेपत्ता पारिएको र अन्य पक्षले २ जनालाई बेपत्ता पारेको इन्सेकको प्रतिवेदनले उल्लेख गरेको छ ।

सन् २०२३ मा ३२३ जना व्यक्तिको हत्या भएको प्रतिवेदनमा देखाइएको छ। जसमध्ये राज्य पक्षबाट ६ जना र अन्य पक्षबाट ३१७ जनाको हत्या भएको पाइएको छ ।

प्रतिवेदनकाअनुसार कोशी प्रदेशमा राज्यपक्षबाट ३ र अन्य पक्षबाट ६० जना गरी ६३ जना, मधेस प्रदेशमा राज्य पक्षबाट १ र अन्य पक्षबाट ६४ गरी ६५ जना, वागमती प्रदेशमा राज्य पक्षबाट २ र अन्य पक्षबाट ५६ गरी ५८ जनाको हत्या भएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा अन्य पक्षबाट २८ जना, लुम्बिनी प्रदेशमा अन्य पक्षबाट ५५ जना, कर्णाली प्रदेशमा अन्य पक्षबाट ३८ जना र सुदूरपश्चिम प्रदेशमा अन्य पक्षबाट १६ जनाको हत्या भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्