काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे । सहकारीको महत्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवशायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको बताए ।
फरक प्रसङ्गमा अध्यक्ष ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा योग्य र क्षमतावान व्यक्ति नियुक्ति गरिनुपर्ने खाँचो रहेको औँल्याए । उपकुलपतिमा भागबण्डा नगरी उपयुक्त व्यक्ति नियुक्त गरिनुपर्ने उनको भनाइ थियो ।














