Logo
Logo

नवलपुरमा लोपोन्मुख पाँच गिद्ध मृत फेला


630
Shares

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार पाँचवटा लोपोन्मुख गिद्ध मृत फेला परेको छ । कावासोती–११ स्थित लोकाहा खोला किनारमा चारवटा डंगर प्रजातिका र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेको हो ।

सोही स्थानमा एउटा सुन गिद्ध र ६ वटा डंगर प्रजातिकै गिद्ध बिरामी अवस्थामा फेला परेको जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीले जानकारी दिए । बिरामीमध्ये एउटा डंगर गिद्धको अवस्था गम्भीर रहेको छ । मरेको स्यालको सिनो खाएर गिद्ध मरेका बताइएको छ । चौधरीका अनुसार गिद्ध मरेको स्थानमा २ वटा मरेको स्यालको सिनोसमेत फेला परेको छ ।

विषादीयुक्त खाना खाएर मरेको स्यालको सिनो खाएर गिद्ध मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको अध्यक्ष चौधरीले जानकारी दिए । लोकाहा खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए । मरेका गिद्धको मंगलबार पोस्टमार्टम गरिने तथा बिरामी गिद्धलाई घटनास्थलमा प्राथमिक उपचारपछि जटायु रेस्टुरेन्ट लगेर उपचार गरिने चौधरीले बताए ।

यसअघि करिब ११ महिनाअघि कावासोती– ३ को केरुंगे खोला आसपासको क्षेत्रमा पनि विशाक्त आहारा खाएर १७ वटा गिद्ध मरेका थिए । स्याल, कुकुरजस्ता जनावर मार्न स्थानीयले विषादी प्रयोग गर्ने र उक्त विषादी खाएर मरेको जनावरको सिनो खाँदा गिद्ध मर्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्