Logo
Logo

अर्थमन्त्री महतका पिएको धन्दा



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व प्रशासनमा सधैं आकर्षक ठाउँमा बसी लाभ लिएका उपसचिव बोलराज आचार्यलाई निजी सचिवमा राखेका छन् । मन्त्री महत भद्र भए पनि आचार्य भने राजस्व प्रशासनमा सेटिङ गर्ने र अकूत कमाउने धूर्त उपसचिवका रुपमा चिनिन्छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र उपसचिव बोलराज आचार्य

मन्त्री महतको निजी सचिवमा नियुक्त हुनासाथ आचार्यले आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयका प्रमुखहरुलाई विभिन्न करछली गर्ने र भन्सार छली गर्ने ब्यापारीहरुको पक्षमा काम गर्न दबाब दिन सुरु गरेको आरोप छ । निजी सचिव हुनासाथ उनले मन्त्रीको नाममा भन्सार र कर कार्यालयका प्रमुखहरुलाई दुःख दिन सुरु गरेको स्रोतले बताएको छ ।

मन्त्रीको निजी सचिव हुनुअघि उनी आन्तरिक राजस्व कार्यालय कालिमाटीको प्रमुख थिए । आन्तरिक राजस्व बिभागका महानिर्देशक दीर्घराज मैनाली(हाल सरुवा)ले आचार्यलाई पर्फमेन्स देखाउन नसकेकोमा पटक पटक सचेत गराएका थिए । लक्ष्यअनुसार कर असुलीतिर भन्दा पनि उनी ब्यक्तिगत रुपमा उन्नतितिर लागेको सूचना पाएपछि डीजी मैनालीले उनलाई सचेत गराएका थिए ।

आचार्य राजस्व समूहमा सेवा प्रवेशदेखि नै आकर्षक कर, भन्सार, राजस्व अनुसन्धान विभागमा बस्दैआएका छन् । २०५९ मा सेवा प्रवेश गर्दा नै ३ नम्बर कर कार्यालय लाजिम्पाटमा पोष्टिङ भएका थिए आचार्य । दोस्रो पोष्टिङ राजस्व अनुसन्धान विभाग र तेस्रो बुटवलमा भयो । त्यसपछि आन्तरिक राजस्व कार्यालय बिराटनगर, तत्कालीन २ नम्बर कर कार्यालय, ठूला करदाता कार्यालय हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत केही समय बसे ।

आफूबिरुद्ध परेका अकूत सम्पत्ति आर्जनका उजुरी मिलाएर उनी पुनः आन्तरिक राजस्व कार्यालयको प्रमुख भएका थिए । उनी आन्तरिक राजस्व कार्यालय हेटौंडामा पनि कार्यरत रहेका थिए । राजस्व अनुसन्धान कार्यालय बुटवलको प्रमुखमा उनी काजमा गएका थिए । राजस्व प्रशासनमा सधैं आकर्षक ठाउँ पाउनेमा आचार्य सायद पहिलो नम्बरमा पर्ने अर्थमन्त्रालयकै अधिकारी बताउँछन् ।

जागिरमा प्रवेश गरेदेखि नै आकर्षक कर र राजस्वमा बसी अकूत सम्पत्ति आर्जन गर्ने आचार्यले पूर्व अख्तियार प्रमुख नवीन घिमिरेको अन्तिम कार्यकालमा सुरेश घिमिरे भन्ने बिचौलियामार्फत् उजुरी तामेलीमा राख्न लगाएको स्रोत बताउँछ ।

यसअघि अर्थमन्त्री डा. महतका निजी सचिवका रुपमा यु्वराज पाण्डे कार्यरत थिए । उपसचिव पाण्डेलाई मन्त्री महतले वासिङ्टन डीसीस्थित कन्सुलर बनाएर पठाएपछि आचार्य निजी सचिवमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्