Logo
Logo

कैलालीकाे सामुदायिक वनमा चार सयभन्दा बढी गाइगोरुका कंगाल भेटियो


2.6k
Shares

धनगढी । कैलालीको गोदावरी नगरपालिका–९ को लक्ष्मी महिला सामुदायिक वनमा करिब चार सय गाईगोरुका कंकाल भेटिएको छ । सामुदायिक वनभित्रको कान्जी हाउस वरिपरि यत्रतत्र छरिएको अवस्थामा ती कंकाल भेटिएका हुन् ।

स्थानीयको खेतीपाती नोक्सान गरेको भन्दै वडाध्यक्ष रामलाल रानाको रहोबरमा गत साउन २ गते बसेको बैठकले लक्ष्मी महिला सामुदायिक वनभित्र पशुचौपाया राख्ने निर्णय गरेको थियो । सामुदायिक वनभित्र तारबार लगाएर राखिएका पाँच सयभन्दा बढी चौपायामध्ये चार सय बढी मरेका हुन् ।

लक्ष्मी सामुदायिक वनकी अध्यक्ष अनिता चौधरीले वडाध्यक्ष रामलाल रानाले छाडा पशुचौयापाका लागि वडामा बजेट नभएको बताएपछि हरेक घरबाट एक सय रुपैयाँ संकलन गरेर ६ जना हेरालुसमेत राखिएको बताइन् । उनीहरुलाई मासिक आठ हजार तलब दिएर राखेको बताइन् । ती पशुलाई चिसोमा बस्ने ओत र खाना नभएपछि मर्न थालेको उनको भनाइ छ ।

भदौदेखि मर्न थालेका चौपाया माघसम्म निरन्तर मर्नेक्रम नरोकिँदा पनि वडाध्यक्ष रानाले आफूलाई जानकारी नभएको बताए ।
वडा नम्बर ९ को कार्यालय र कान्जी हाउस नदीको वारि–पारि छ । वडा कार्यालयमा एक जना पशु स्वास्थ्यकर्मी पनि छन् ।
वडा कार्यालयको लापरवाहीकै कारण पशु चौपाया मरेको स्थानीयको आरोप छ ।

वडा कार्यालयका पशु स्वास्थ्यकर्मी रोशन पन्तले पनि कान्जी हाउसका पशु मरेको कुरा आफूलाई थाहा नभएको बताए । स्थानीय विराज विष्टले कान्जी हाउसमा पशुचौपाया हुलेर राखेको र तिनको उपचार, खाना र ओतको ब्यवस्था नगरिएकाले गौहत्या भएको आरोप लगाए । उनले कान्जी हाउसको सबै जिम्मेवारी नगरपालिका र वडाको भएको भन्दै अहिले वडाका कसैले पनि थाहा छैन भनेर पन्छिरहेको बताए । उनले भने, ‘यो सुनियोजित रूपमा गरिएको गौहत्या हो ।’

मरेका केही पशुचौपाया तारबारभन्दा बाहिर यत्रतत्र फालिएका छन् भने आधाभन्दा बढी तारबारभित्रै छन् ।

प्रतिक्रिया दिनुहोस्