Logo

महानगरीय प्रहरीलाई केन्द्रीय प्रहरी मातहत राखिने


Published On : 20 March, 2020

काठमाडौं, ७ चैत
प्रहरी समायोजनमा उपत्यकाका तीन जिल्लालाई केन्द्रीय प्रहरी (नेपाल प्रहरी) अन्तर्गत नै राखिने भएको छ । केन्द्रीय राजधानीको सुरक्षा जिम्मेवारी प्रदेश सरकारमातहत राख्दा पछि समस्या हुन सक्ने भन्दै केन्द्रमा राख्न लागिएको हो ।


समायोजन र सुपरिवेक्षणसम्बन्धी दुवै ऐनमा यसबारे केही उल्लेख छैन । मन्त्रिपरिषद्बाट विशेष निर्णय गरेर तीन जिल्लालाई केन्द्रमातहत राख्ने सहमति भएको गृह मन्त्रालयका एक अधिकारीले बताए । हाल मन्त्रिपरिषद्मा नेपाल प्रहरी ऐनको मस्यौदामार्फत यस विषयलाई थप प्रस्ट बनाउन लागिएको छ ।
छिमेकी देश भारतमा पनि राजधानी नयाँदिल्लीमा केन्द्रीय प्रहरीले नै हेर्दै आएको छ । केन्द्र र प्रदेश सरकारबीच कुनै असमझदारी भएको अवस्थामा केन्द्रीय सरकारलाई प्रदेश प्रहरीले अप्ठेरो पार्न सक्ने भएकाले पनि केन्द्रीय राजधानीको सुरक्षा नेपाल प्रहरीलाई नै दिन लागिएको हो ।

‘उपत्यकाका तीनै जिल्लामा प्रदेश प्रहरीको पनि सानो युनिट रहन्छ,’ गृहका एक अधिकारीले भने, ‘महानगरीय प्रहरी भने केन्द्रकै हुनेमा लगभग सबैको एक मत छ ।’ उपत्यकाका तीन जिल्लामा करिब १० हजार प्रहरीको दरबन्दी छ । समायोजन गरेर त्यो दरबन्दीलाई संघमा नै राखिनेछ ।

समायोजन हुने प्रहरीको विवरण तयार

समायोजन हुने सबै प्रहरीको विवरण तयार गरिएको छ । समायोजन ऐन लागू भएको एक महिनाभित्र विवरण तयार गर्नुपर्ने प्रावधान छ । बिहीबार ऐन लागू भएको एक महिना पूरा भएको छ । गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको समितिले ७९ हजार पाँच सय २३ प्रहरीको विवरण तयार पारेको हो ।

प्रहरीको ज्येष्ठता, स्थायी ठेगाना, नागरिकताको ठेगाना, कार्यरत स्थानलगायत विवरण तयार पारिएको हो । अब कुन प्रदेशमा कति प्रहरी आवश्यक पर्छ ? संख्या तय गर्न अर्काे समिति बन्नेछ । संख्या तय भएपछि मात्र समायोजनका लागि आवेदन लिने गृह मन्त्रालयको तयारी छ ।

समायोजन ऐनमा डिएसपीसम्मका प्रहरीलाई प्रदेशमा समायोजन गरिने उल्लेख छ । अनलाइनमार्फत आवेदन लिने र सफ्टवेयरमार्फत समायोजन गर्ने गृहको तयारी छ । सफ्टवेयरमार्फत समायोजन गर्दाका समस्याबारे समेत छलफल सुरु भएको छ ।

सफ्टवेयरले ज्येष्ठता, कार्यरत स्थानलगायत विषयलाई मात्र आधार बनाएर समायोजनको नतिजा निकाल्ने, तर प्रहरीको विशेषज्ञता सबै प्रदेशमा समानुपातिक रूपमा हुने गरी समायोजनको आवश्यकता रहेको प्रहरी अधिकारी बताउँछन् । अर्काेतर्फ समायोजन हुने प्रहरीको करिअरसमेत अस्पष्ट भएकाले प्रहरीमा अन्योल र चिन्ता छ ।

समायोजनबारे गृहसचिव न्यौपाने नेतृत्वको समितिको बैठक बुधबार गृह मन्त्रालयमा बसेको थियो । बैठकले प्रहरी कर्मचारीको विवरणलाई अन्तिम रूप दिएको छ । अब संगठन तथा व्यवस्थापन सर्वेक्षणलाई अगाडि बढाउने भएको छ । साथै, गृहमन्त्री नेतृत्वको समन्वय समितिको बैठकसमेत केही दिनभित्रै बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्